रिचार्ज कार्ड कोट्याउँदा पिन नम्बर मेटिएर हैरान हुनुहुन्छ ? नम्बर मेटिएपनि यसरी गर्नुस् रिचार्ज

काठमाडौं । रिचार्ज कार्डबाट हामीसबैले मोबाइलमा रिचार्ज त गर्ने  गरेकै छौ । तर बेलाबेला रिचार्ज कार्डबाट पिन छोप्पिएको भाग मेटाउँदा कहिलेकाहि पिन नम्बरनै मेटिने गर्छ । तर नेपाल टेलिकमले रिचार्ज कार्डमा भएका अधिकांश पिन नम्बर मेटिएर कमसेकम ६ वटा नम्बर मात्र देखिएका छन् भने पनि रिचार्ज गर्न सकिने सिस्टम ल्याएको छ । यसका लागि ग्राहकले पहिलो चरणमा कम्पनीको वेबसाइटबाट आफैंले रिचार्ज गर्न सक्नेछन् ।

कार्डको पिन नम्बर प्रष्ट नभएमा वा कोरिएमा ग्राहकले नम्बर बिग्रिएको रिचार्ज कार्डको सिरियल नम्बर, रिचार्ज कार्डमा देखिने पिन नम्बर र रिचार्ज गर्नुपर्ने मोबाइल नम्बर उपलब्ध गराउनुपर्छ ।

यसका लागि कम्पनीको वेबसाइटमा गएर पिन रिकभरीमा क्लिक गर्ने वा सिधै http://pinrecovery.ntc.net.np/  मा लग ईन गर्नुपर्छ । रिचार्ज कार्डमा भएका १६ अंकका पिन नम्बर मध्ये कमसेकम ६ वटा अंक देखिने हुनुपर्छ । यसरी देखिने पिन नम्बरलाई कार्डमा लेखिएको अवस्थामा राख्नुपर्छ र मेटिएको अंकमा ‘८’ चिन्ह राख्नुपर्छ । जस्तो कि पिन नम्बरको फर्म्याट १२३४५६७८९०१२३४५६ छ र बीच बीचका पिन नम्बर मेटिएको वा नबुझिने छ भने त्यही अनुसार १८८४५८७८८८१२८८५८ संरचना बमोजिम राख्नुपर्छ ।

यसरी रिचार्ज गर्दा पनि गलत भयो भने बढीमा १० पटकसम्म प्रयास गर्न सकिन्छ । यो भन्दा बढी पटक गलत तरिकाले रिचार्ज गर्न खोजियो भने वेबसाइटबाट सफल हुँदैन र रिचार्ज कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै जानुपर्ने हुन्छ । कमसेकम ६ अंक पनि नदेखिएमा भने साट्न वा रिचार्जका लागि काउन्टरमै जानुपर्छ ।

यसअघि सबै प्रकारका कार्ड साट्नका लागि कम्पनीको काउन्टरमै पुग्नुपर्ने बाध्यता रहेकोमा यो व्यवस्था पश्चात हटेको छ । काउन्टरमा गएपछि यसको जाँच गरेर सोही मूल्यको नयाँ रिचार्ज कार्ड दिने व्यवस्था छ । वेबसाइटबाटै ग्राहकले आफै नै रिचार्ज गर्ने व्यवस्थाले सेवाग्राहीलाई निकै नै सहज हुने अपेक्षा गरिएको छ ।

भविष्यमा कम्पनीको एप ‘नेपाल टेलिकम’ र सर्ट कोडमार्फत एसएमएस पठाएर समेत रिचार्ज कार्ड साट्न सकिने व्यवस्था गर्ने कम्पनीको योजना रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?