देशभरको मौसममा उतारचढाव : यसकारण खुलेन काठमाडौं, तराईमा हुस्सु र कुहिरो

काठमाडौं – आइतबार विहानदेखि देशभरको मौसममा बदली आएसँगै काठमाडौं धुमिल भएको छ । तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने पहाडी क्षेत्रमा पनि मौसम सफा हुन सकेको छैन ।
घाम नलागेका कारण चिसो बढेको छ । केहि हप्तादेखिको वर्षापछि अघिल्लो हप्ताबाट उज्यालिएको काठमाडौं फेरि धुमिल भएपछि बढ्ता चिसो महशुस भएको हो। यसैबिच तराई क्षेत्रमा बाक्लो कुहिरो लागेको कारण त्यस क्षेत्रको जनजीवन प्रभवित भएको छ । केहि पहाडी क्षेत्रमा बदली समेत भएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनमा आइतबार विहान साढे ७ बजे भैरहवा, जनकपुर र विराटनगरमा पनि विहानको ‘भिजिविलिटी’ निकै कम थियो ।

पूर्वी पहाडी क्षेत्रमा भने पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अन्य क्षेत्रमा पनि भने पानी पर्ने सम्भावना कम छ ।

आइतबार दिउँसोदेखि नै मौसम खुल्ने मौसमविद्को अनुमान भएपनि पूर्वी भूभागमा रहेको न्युनचापीय मौसम प्रणलीका कारण मौसम खुल्न सकेको छैन ।

घाम लागेको बेलासमेत चिसो बढ्यो

यसैबिच पछिल्ला केही दिनयता घाम लागे पनि बढी चिसो महशुस गरिएको छ। मौसमविद् भन्छन्, कुनै पनि किसिमको मौसमी प्रणाली विकास नभए पनि यस्तो अवस्था अझै केही दिन जारी हुन्छ । चिसो बढे पनि काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा नझर्ने र विस्तारै तापक्रम बढ्दै जाने मौसविद् बताउँछन् ।

चिसोबाट जोगिन के गर्ने ?

न्यानो लुगा, तातो खानेकुरा, पोषिला खाद्यपदार्थ खाने

पुँदिना, लसुन, तुलसीपत्ताको पात मिसाएर पानी उमालेर बाफ लिनुहोस् ।

तातो पानी तपाएर एउटा फराकिलो भाँडोमा राखि थोरै नुन हालेर आधा घण्टा जति खुट्टा डुबाएर बस्नुहोस् ।

दिन बिराएर तातो पानीले कुल्ला गरी घाँटीमा जमेको कफ निकाल्नुहोस् ।

मनतातो पानी मात्रै प्रयोग गर्नुहोस् ।

मह मिसाएको पानी पिउँनुहोस् । त्यसमा एक दुई थोपा कागतीको रस राख्नुहोस् ।

पानीमा बेसार, नुन ,कागती दुई तिन थोपा रस राख्नुहोस् । थोरै मेथी त्यसमा राखि पिउनुहोस् । मरिचको धुलो पनि राख्न सक्नुहुन्छ ।

तुलसीको पत्ता मुखमा राखी त्यसको रस लिनुहोस् ।

अरु के गर्ने ?
-पर्याप्त न्यानो कपडा लगाउने

-मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम नगर्ने

-नियमित शारीरिक व्यायाम गर्ने

-सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिने

-छालाको सुरक्षामा ध्यान दिनुपर्छ ।

-बिहान उठ्ने बित्तीकै पर्याप्त मनतातो पानी पिउने

-स्वस्थ आहारव्यहार गर्ने

-कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

-सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम हुँने हुँदा होसीयारी अपनाउनुपर्छ ।

-जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने गरीन्छ । तर हावाको आवतजावत हुनेगरी कोठाको व्यवस्थापन गरेर मात्रै बस्नुपर्छ ।

यसैबीच सर्वसाधारणको अत्याधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको हुँदा ‘मर्निङ वाक’ नगर्न चिकित्सकले भनेका छन् ।

रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् ।

तर नगर्नुहोस् यो गल्ती

अहिले चिसो निकै बढेको छ । जाडो अर्थात् चिसो बढेसँगै हिटर किन्ने र ताप्नेहरुको संख्या पनि बढेको छ । तपाईले पनि चिसोबाट बच्नका लागि हिटर किन्नुभएकै होला ? यसको प्रयोग गर्दा कत्तिको सावधानी अपनाईरहनुभएको छ ? के तपाई कोठा थुनेर हिटर ताप्दै त हुनुहुन्न ? त्यसो हो भने तपाईले चनाखो हुने पर्छ र यसका बेफाइदाबारे जान्ने पर्छ । यदि हिटर ताप्दा सावधानी अपनाईएन भने यसले ठुलो दुर्घटना पनि निम्त्याउन सक्छ । हिटरको प्रयोग गर्दा ध्यान दिन नसके निसास्सिएर ज्यानै समेत जान सक्छ ।

हिटरबाट कार्बन मोनोअक्साइड ग्याँस उत्पन्न हुन्छ जुन स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ । यसर्थ कोठा बन्द गरेर कहिल्यै हिटर बाल्नु हुँदैन ।
सुत्नुभन्दा अगाडि कोठालाई न्यानो पार्ने र सुत्ने बेला हिटर बन्द गरेर सुत्नुपर्छ । हिटरको प्रयोग गर्दा जान्नै पर्छ यी कुरा :-

हिटर बाल्दा कोठाको झ्याल वा भेन्टिलेसन खुल्ला गर्नुहोस् । हावा पास नहुने बन्द कोठामा हिटर प्रयोग गर्नुहुँदैन् ।

-मुटु तथा श्वास प्रश्वासका रोगीका लागि हिटर प्रयोग हानीकारक मानिन्छ ।

-लामो समय सम्म हिटर प्रयोग गर्दा छालामा समस्या आउने देखिन्छ । त्यसैले लामो समय सम्म हिटर नजिक नबस्नुहोला ।

-सुत्ने बेलामा हिटर बालेर नसुत्नुहोस्, साथै आफु केहि काम गर्दै गर्दा हिटर कोठामा खुल्लै छाडेर बाहिर ननिस्किनुहोस् ।

– आगोबाट जल्ने कुराहरु र केटाकेटीहरुबाट हिटरलाई टाढै राख्नुहोस् ।

जाडोमा टन्सिलबाट कसरी बच्ने ?

धुम्मिएको यो मौसममा चिसो बढ्दै गएको छ । जाडोयाममा अधिकांशको एउटै समस्या हुन्छ, ‘टन्सिलले सताउनु’ । मुखको पछिल्लो भागमा रहेको एक जोडी अण्डाकार मासुको डल्लोजस्तो अंग, जसलाई टन्सिल भनिन्छ। लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह नै टन्सिल हो। यो मुखको भित्री भाग तथा जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा हुन्छ। यसले अंगले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यही टन्सिलमा आन्तरीक वा बाह्य कारणबाट समस्या देखियो भने हामीले यसलाई टन्सिल भयो भन्ने गर्छौं तर, यसलाई मेडिकल भाषामा ‘टन्सिलाइटिस’ भन्ने गरिन्छ।

यो घाँटीमा हुने यस्तो संक्रामक रोग हो, जसले मौसममा आउने परिवर्तनपछि धेरैलाई सताउँछ । चिसो तातो खानको मात्रा, अत्याधिक पिरो, अत्याधिक अमिलो, धेरै चिसो वातावरणमा रहनु आदीका कारण बढीजसो टन्सिलको समस्या उत्पन्न हुन्छ । टन्सिलका कारण बिरामीले ठोस खानामात्रै होईन कुनै तरल चिज पनि पिउन समस्या हुन्छ ।

के हुन् लक्षणहरु

–घाँटीमा फोका आउँनु ।

-गलामा दुखाई हुनु, घाँटीका तन्तुहरु सुन्निनु ।

-प्रायजसो बिरामीलाई टाउको भारी हुन्छ ।

-ज्वरो आउनु ।

-घाँटी चिलाउनु ।

-खसखस गर्नु ।

-सुख्खा हुनु ।

-श्वासबाट गन्ध आउनु

-तरल पदार्थ पिउँदा दुख्नु, निल्न नसक्नु

-ठोस कुरा चपाउन समस्या हुनु

-निल्दा असजिलो हुनु

-घाँटीको तल्लो भागसम्म सुन्निनु

-खानाको स्वाद नआउनु

-टन्सिलको कारण पोल्ने, दुख्ने गर्दा सास लिन र फेर्न अप्ठेरो हुन्छ ।

टन्सिल हुने कारणहरु

चिसोमा घाँटीको सुरक्षाबिना नै हिँड्नु

_टन्सिल्स कमजोर हुनु

_पचन क्षमता कमजोर हुनु

-अति चिसो अति तातोको प्रभाव

-दुषित हावापानी

-मसालेदार खाना

-चिल्लोचापुल्लो बढि भएको खानेकुराको प्रयोग

-स्वास्थ्यमा ध्यान नदिँदा

 

यसरी गर्न सकिन्छ टन्सिलको उपचार


-मनतातो तरल पदार्थ पिउने

-सुपहरु बनाएर पिउने

-हरेक ३ घन्टामा तातोपानीमा नुन हालेर कुल्ला गर्ने । बेसार पानीमा थोरै जिरा राखेर मनताते बनाएर पीउने

-हर्बल चिया पिउने

-कफि, जाँडरक्सीको प्रयोगबाट टाढा रहने

-मनतातो पानीमा दालचिनी मिलाएर पानी पिउने ।

-अदुवा र मह हालेर चिया पिउने ।

 

-चिसोमा हिँडडुल नगर्ने ।

 

-धुलो धुँवाबाट बच्ने ।

-निको नभएमा एन्टिबायोटिक औषधि प्रयोग गर्ने

-एक महिनामा ३ पटकसम्म टन्सिल हुन थालेमा शल्यक्रिया गर्न चिकित्सकसँग सुझाउँछन् । तर यो समस्या दोहोरीरहेको खण्डमा अनुभवी चिकित्सकसँग सल्लाह गरी राम्रोसाग जँचाएर मात्रै औषधी सेवन गर्ने ।

यसअघि लोकपथमा प्रकाशित यो समाग्री पढ्नुहभएको थियो ? 

सावधान ! जाडोयाममा दुईपांग्रेमा हुँइकिदा गर्नुपर्छ १३ तयारी

सडक सबैको साझा सम्पत्ति हो । कसैको हँकाई जाँच्न, कतिको डराउँछ भनेर आत्मविश्वास जाँच्न लेन मिचेर, अरुलाई धक्का दिने गरी, मोटरसाईकल दौडाउनेहरु पनि उत्तिकै छन् । यदि तपाईले जानाजान यी यस्ता किसिमका हर्कत गरेर अरुलाई दुख दिने, लडाईदिने, तर्साउने क्रियाकलाप गरिरहनुभएको छ भने सावधान । तपाईको हँकाईले अर्को व्यक्तिलाई बाधा पर्नु वा दुर्घटना हुनु भनेको तपाई अपराधकर्म गरिरहनुभएको छ ।
खासगरी स्कुटर हाँक्ने युवतीहरुको गुनासो हुन्छ, त्यो बाईकवालाले कस्तो पेलेर लग्यो, त्यो माईक्रोले झन्डै लतारेन, त्यो बसवालाले झण्डै ठहरै पारिदिएन ।
मथिका गुनासाहरु अक्सर कलेज पढ्ने युवतीहरुले दोहोर्याइरहन्छन् । तर समस्या ज्यूँ का त्यूँ छन् । अर्थात् बाइकवाला, सबवाला, माईक्रोबसवाला जो हुन् उनीहरुको परिवारमा पनि तिनीहरुजस्तै छोरीहरु, बालिकाहरु जन्मेका छन् । हुर्केका छन् । भोली कोही अरुले यस्तै गरेको अवस्थामा म के गरुँला भनेर कसैले सोच्दैन । त्यसमाथी आफ्नो जस्तै दुईपांग्रे हाँक्नेहरुले पनि सकेसम्म लडाईदिन्छु भन्ने आशयले ओभरटेक गरेर अगाडी आएर स्लो गर्ने जस्ता हर्कत पनि बारम्बार गरिरहन्छन् । त्यसैमाथि जाडोयाममा केहि बढी होसीयारी अपनाउनुपर्छ ।

आफ्नो सवारी कन्डिसनमा छ कि छैन अवस्था बुझ्नुपर्छ ।

बाक्लो, न्यानो, दाँयाबाँया गर्न उपयोगी हुने वाटरप्रुफ, हावा सहजै नछिर्ने किसिमको कपडा लगाउनुपर्छ ।

हातमा पुरा औँला छोप्ने पन्जा प्रयोग गर्नुपर्छ ।

सहज हुने तर न्यानो खालको जुत्ता लगाउनुपर्छ । छालाको जुत्ता सकभर लगाउनु हुन्न ।

महिलाहरुले एक हातमा मात्रै भिर्ने किसिमको ब्याग बोक्नु हुन्न । साईड ब्याग बोक्दा राम्रो हुन्छ ।

न्यानो खालको मफलर लगाएर घाँटीलाई चिसोबाट जोगाउनुपर्छ ।

चिसोमा हुस्सु लाग्ने हुँदा फग लाइट बाल्नुपर्छ ।

कुहिरो र हुस्सुले निस्पट्ट अध्यारो छ भने साईड लाईट पनि बाल्न सक्नुहुन्छ ।

तुलनात्मक रुपमा स्पीड कम गर्नुपर्छ ।

ओभरटेक गर्दा निकै ख्याल गर्नुपर्छ ।

ठूला सवारीको बिचमा घुस्ने काम गर्नुहुँदैन ।

हिउँ परेको बेला सवारी हाँक्दा चिप्लने र आउट अफ कन्ट्रोल हुने हुँदा विचार पुर्याउनुपर्छ ।

सडकमा हिड्दा म मेरो कारण कुनैपनि हानी नोक्सानी र क्षति पुर्याउँदिन भन्ने मनोभाव राखेर हिड्नुपर्छ ।

आफू पनि बचौँ अरुलाई पनि बचाऔँ ।

हेल्मेट कस्तो छ तपाईको ?

त्यसमाथि दुईपांग्रे सवारी चालकका लागि अनिवार्य सर्त हो हेलमेट । हेलमेट चालकको टाउकोको सुरक्षाका लागि निकै महत्वपूर्ण मानिन्छ । त्यसैले दुईपांग्रे सवारी साधन चलाउनेका लागि हेलमेट अनिवार्य छ । तर हामीमध्ये धेरैजसो ट्राफिक नियमको पालना गर्नका लागि मात्रै हेलमेट लगाउने गर्छौ ।
यसैको कारण हुनसक्छ दुईपांग्रे सवारी चलाउनेहरुमा नेपालमा सस्तो हेलमेट प्रयोग गर्ने बानी नै बसेको छ । सस्तो हेलमेट यहाँ यसअर्थ भनिएको हो, कि यसमा गुुणस्तरीयता कमै हुन्छ । नेपालमा ५ सयदेखिकै हाराहारीम हेलमेट पाइन्छ । तपाईहामीमध्ये धेरैलाई यो कुरा थाहा छैन कि, हामी दुुई पांग्रे सवारीसाधन प्रयोगकर्ताले कतिसम्म लापरबाही गरिरहेका छौँ ।
हो, धेरैजनाले प्रयोग गर्ने हेलमेट गुुणस्तरशुन्य हुन्छ । टाउकोको सुुरक्षा त यो हेल्मेटले गर्दैन नै साथमा आँखा पनि नदेख्ने बनाउँछ । गुुणस्तरिय हेल्मेटको प्रयोग गरि मोटरसाइकल तथा स्कुटर चलाएको खण्डमा दुर्घटनाबाट हुन सक्ने क्षतिलाई न्युनिकरण गर्न सकिने विज्ञहरु बताउँछन् ।

मोटरसाइकल वा दुईपांग्रे सवारीको दुर्घटनाको समयमा राइडरलाई सबैभन्दा पहिले टाउकोमा चोट लाग्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । मानव शरिरको सबैभन्दा संवेदनशील अंग टाउकोमा गहिरो चोट लाग्दा मानिसको ज्यान जाने संभावना उच्च हुन्छ । यस्तो अवस्थामा सुरक्षित र गुणस्तरिय हेल्मेट प्रयोग गरियो भने टाउकोमा हुने चोटका कारण मानिसको ज्यान जोगाउन सकिन्छ । त्यसैले हेल्मेटलाइ राइडरको सुरक्षा कवच मानिन्छ ।

गुणस्तरिय हेल्मेट कसरी छान्ने ?

सामान्यतया सबै हेलमेटको बाहिरी सिल कडा हुनुपर्छ ।

सो सिल भेन्टीलेटर, कम्फर्ट र सहि सेपको हुनुपर्छ।

त्यसको आउटर प्याड सुरक्षित हुनुपर्छ।

घस्रिदा तथा लड्दासमेत नकोरिने खालको हुनुपर्छ ।

हेल्मेटको अप एण्ड डाउन भिजन र होरिजेन्टल पनि गुणस्तरीय हुनुपर्छ ।९आफ्नो टाउकोको आकारअनुसार फिट हुने हेलमेटको प्रयोग गर्नुपर्छ ।

नक्कली हेलमेट पनि बजारमा पाइने हुँदा कुन देशको कुन कम्पनीको हेलमेट कुन गुणस्तरको हुन्छ भन्नेमा चनाखो रहनुपर्छ ।
हेल्मेट लगाउँदा कुनै आवाज आउँछ कि आउँदैन त्यो कुरामा ध्यान दिनुपर्छ ।

 

यदि तपाईँले लगाउँदै गरेको हेल्मेट गुणस्तर युक्त छ भने त्यसबाट हेल्मेट लगाउँदै गर्दा कुनै आवाज निस्किन्छ । गुणस्तरहिन छ भने उक्त हेल्मेटबाट आवाज निस्कदैन।

प्रयोगकर्ताले सुरक्षित रहन के कुरामा ध्यान दिने ?

आफूले प्रयोग गर्दै आएको हेलमेट लामो समयसम्म नधुँदा कपाल झर्छ, छालामा एलर्जी आउँछ, टाउको चिलाउँछ । शारिरिक मात्र नभइ मानसिक रुपमा पनि स्वस्थ रहन आफूले लगाउने कपडाझैँ हेलमेटको भित्रीभाग निकालेर समय समयमा राम्रोसँग धुनुपर्छ ।

 

दुईपांग्रे सवारी चालकका १२ गल्तीहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

ओभरस्पीड हतारमा हाँक्नु ट्राफिक प्रहरीको निकै पुरानो एउटा स्लोगन छ, ”बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न” । सम्भवत: सबैलाई थाहा छ यो ‘स्लोगान’ । तर यो कुरा मनन गर्ने कमै छन् ।

अधिकांश दुर्घटनाको कारण हुन्छ चालक हतारमा हुनु । हो, समय हुनुजेलसम्म हामी आराम गर्छौ । गन्तव्यको बारेमा सोच्दैनौँ , जब सडकमा निस्कन्छौँ तब हामीलाई सबैभन्दा पहिले पुग्नुपर्छ । रोड मेरो हो भन्ने भाव हामीमा आउँछ । चालकको पहिलो गल्ती हो,यो । त्यस्तै बाटोको अवस्था नहेरी मनलाग्दी स्पीड बटार्नु पनि दुर्घटनाको कारण बन्छ ।

बिग्रेका बाटो, भर्खरै खनिएका बाटो, निर्माणाधीन सडक, चिप्लो बाटो, माटो थुप्रिएको बाटो, व्यस्त सडक , हाईवे, सब वे, विद्यालय क्षेत्र, बस्ती क्षेत्र आदीबरे चालकले खासै ध्यान नदिएर मनलाग्दी दौडीँदा पनि दुर्घटना भइरहेको ट्राफिक प्रहरी बताउँछ ।

-लेन मिच्नु

-अनावश्यक ओभरटेक गर्नु अरु सवारीलाई जित्नैपर्छ भन्ने भाव राखेर हाँक्नु

 

-अनावश्यक हर्न बजाउनु

-बच्चालाई अगाडी राखेर हाँक्नु वा दुई जनाको बिचमा बच्चालाई राखेर हाँक्नु

-ओभरलोड गर्नु सामान ओसारपसार गर्नु

-स्टप जोन, जेब्राक्रसिङ स्पीड ब्रेकरबारे जानेर पनि साबधानी नअपनाउनु

-मोबाईलमा गफिँदै हिड्नु, बाईकमा सँगै रहेका साथी सँग गफिएर सडकमा ध्यान केन्द्रित नगर्नु

-तनावमा सवारी हाँक्नु

-एम्बुलेन्स दमकल वा अत्यावश्यक सवारीको पछीपछि कुद्नु

-मापसे गरी सवारी चलाउनु

-सवारी चेकजाँच नगर्ने, हेल्मेटविना बाईक हाँक्ने, कागजपत्र नबोक्ने, बिनालाईसेन्स सडकमा हाँक्नु

हरेक वर्ष हजारौँ नेपालीहरुले सडकको सही प्रयोग गर्न चुकेका कारण मृत्युवरण गर्न परेको तथ्यांकले देखाउँछ । मृत्यु अवश्यम्भावी छ । तर हतारमा लतार भनेझैँ आफ्नै कारण निम्तने यस्ता दुर्घटनाले हामीलाई अंगभंग बनाउन सक्छ । जीवनभर पश्चातापमा बाँच्नुपर्ने बनाउनसक्छ । सोचौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?