फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी

बैतडी । फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ । जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानले फलफूलका बिरुवाबाट मनग्य आम्दानी गरिरहेका हुन् ।

दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नया गाउँपालिका–२ बासुलिङ्गका किसानले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर किसानले आम्दानी गर्न थालेका हुन् । निजी नर्सरीमा फलफूलका बिरुवा उत्पादन गरेर यहाँका किसानले आम्दानी गर्ने गरेका हुन् । प्रत्येक वर्ष आफूले निजी नर्सरीबाट वार्षिक छ लाखभन्दा बढी कमाउने गरेको किसान देवदत्त भट्टले बताए । उनले भने, “आफ्नो निजी नर्सरीबाट हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु बिक्री हुने गरेको छ ।”

निजी नर्सरी नै परिवार पाल्ने माध्यम बनेको दशरथचन्द नगरपालिका–१ कलौनका किसान परमानन्द भट्टले बताए । उनले भने, “मेरो निजी नर्सरीबाट बर्सेनि देशका विभिन्न स्थानमा फलफूलका बिरुवा बिक्री हुने गरेको छ ।” दशरथचन्द नगरपालिका–१ मा १९ र सुर्नया गाउँपालिका–२ मा तीनवटा निजी नर्सरी रहेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए ।

“किसानले निजी नर्सरीबाटै लाखौँ आम्दानी गर्ने गरेको छ”, उनले भने, “सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्सेनि लाखौँका बिरुवा बिक्री हुने गरेको छ ।” हिउँदे फलफूलका बिरुवा रोप्ने समय शुरु भएकाले अहिले निजी नर्सरी तथा सुख्खा फलफूल विकास केन्द्रबाट फलफूलका बिरुवा बिक्री भइरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख डम्मर भाटको भनाइ छ ।

सतबाँझमा जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको बताइएको छ । किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये बैतडीमा मात्रै फलफूलका निजी नर्सरी रहेका छन् ।

विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ । सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ ।

जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो । केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?