परीक्षाको घडीमा अग्नि सापकोटा, बन्लान् त सभामुख ?

काठमाडौं । ४ महिना अघिबाट सभामुख विहिन रहेको प्रतिनिधि सभाले आज सभामुख पाउँदै छ । सभामुखमा आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एकल उमेदवार अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुँदैछन् ।

प्रतिनिधि सभामा बहुमत रहेको सत्तारुढ पार्टी नेकपाले लामो छलफलपछि सभामुख चयन गरेसँगै आज प्रतिनिधि सभाले सभामुख पाउने पक्का भएको हो ।

संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आज दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ ।

आज सञ्चालन हुने पहिलो सभाको बैठक जेष्ठ नागरिकको हैसियतले महन्थ ठाकुरले गर्ने कार्यक्रम छ । उनले बैठक सञ्चालन गर्दै सभामुखको प्रस्तावक र समर्थकलाई बोल्ने समय दिने छन् ।

सापकोटाका प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन्। यस्तै, समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलकाक प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद् लक्ष्मणलाल कर्ण छन्।

उनीहरुले बोलीसकेपछि सापकोटाको एकल उमेदवारी परेकाले ठाकुरले निर्विरोध निर्वाचितको घोषणा गर्नेछन् ।

सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ ।

तर, सापकोटालाई तत्काल सभामुखमा चयन नगर्न सर्वोच्चअदालतमा रिट परेको छ । सापकोटा काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा जोडिदै आएका छन् ।

सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै वरिष्ठ अधिवक्त दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उक्त रिट न्यायाधीश हरिप्रसाद फुँयाल एकल इजलासमा परेको छ ।

रिटमा सापकोटालाई सभामुख बनाउन नहुने पाँच बुँदा उल्लेख भएका छन् ।

उक्त रिटको पेसी आजैको लागि तोकिएको छ ।

निवेदकले गरेको माग दाबी अनुसार अदालतले आदेश जारी गरे आजको सभामुख निर्वाचित गर्ने प्रकृया स्थगित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?