कोरोना भाइरसः डाक्टर भन्छन् – चीनजति खतरा छैन नेपाललाई

नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।

शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताएका हुन् ।

अमेरिका लगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उनले बताए। ‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन । हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको होकी’, उनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दिर्घरोगी छन् । बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन् ।’

अस्पतालका अर्का चिकित्सक डा.बाशुदेव पाण्डेले सुरुमा स्वाईनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए । यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहेको तर, एकपटक चेकअपका लागि चाहिँ अस्पताल जानुपर्ने सल्लाह उनले दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रदिप श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए। विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउनुहुँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए ।

नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए । चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उनले जनाकारी दिए । कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडी बढेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?