प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच बिहानैदेखि छलफल जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान छलफल सम्पन्न भएको हो ।

नेताबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्न सहमति भएको छलफलमा सहभागि नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए । उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको उनले बताए ।

“राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो”, उनले भने, “संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ ।”

यही आइतबार प्रतिनिधिसभा संसदमा सभामुख निर्वाचन हुँदैछ। अहिलेसम्म सभामुखमा नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्र उमेद्वारी दता्र्र भएको छ । उनका विरुद्ध उमेद्वारी दर्ता नगरेको प्रतिपक्षी कांग्रेसले उपसभामुख आफ्नो पार्टीबाट हुनुपर्ने माग राख्दै आएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दल काङ्ग्रेससँग छलफल गरेर मात्र गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?