हिमालयन चितुवा अविरलले जापानमा जिते उपाधि

काठमाडौं । युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् ।

जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात पारे ।

काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्जुधारामा स्थायी घर भएका २१ वर्षीय उनी हिट ४६ किक बक्सिङको टाइटल उपाधि जित्ने कान्छा बक्सर हुन् । उनी जापानमा ‘हिमालयन चितुवा’को नामले परिचित छन् । उनले पछिल्लो समय किक बक्सिङ स्पर्धामा निरन्तर आफ्नो पक्षमा जित हासिल गर्दै आइरहेका छन् । उनले हालसम्म १५ अन्तराष्ट्रिय स्पर्धामा विजयी भएको जनाइएको छ

उनी नागोया शहरमा रहेर नेपालको तर्फबाट किक बक्सिङमा व्यावसायिक खेल खेल्दै आएका छन् । उनी पछिल्लो समय नेपाल भ्रमण वर्ष–२०२० को समेत प्रचार अभियानमा समेत जुटेका छन् ।

बक्सर देव घिमिरेबाट अविरलले बक्सिङको विशेष प्रशिक्षण प्राप्त गरेका थिए । उपाधि हासिल गरेपछि अविरलले भने, “ अगामी दिनमा अझ मैदानमा कडा रुपमा उत्रिन्छु । यो जित सबै नेपालीको हो । ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?