टी-ट्वान्टी विश्वकप : नेपाल ग्लोबल छनोटमा

काठमाडौं । भारतमा आयोजना हुने सन् २०२१ को आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार निकालेको रोडम्याप अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।

आईसीसीको जनवरी १ मा सार्वजनिक भएको टी-ट्वान्टी वरियताका आधारमा नेपाल सिधै ग्लोबल छनोटका लागि छनोट भएको हो । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।

ग्लोबल छनोटमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । नेपालसंगै जिम्बाबे, हङकङ र युएईले क्षेत्रिय छनोट र सन् २०२० को विश्वकप खेल्ने टिमका पुछारका ४ राष्ट्र सम्मिलित १२ राष्ट्रसंग विश्वकपमा स्थान बनाउनका लागि खेल्ने छन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा सहभागिता जनाउन पाउने छन् ।

यस्तै यसै वर्ष अष्ट्रेलियामा हुने विश्वकप टी-ट्वान्टीमा दोस्रो चरणमा छनोट हुने टिमले भने सिधै प्रतियोगितामा स्थान बनाउने छन् ।

ग्लोबल छनोट ८-८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?