निर्भया बलात्कारपछि हत्या प्रकरण : दोषीहरुलाई मृत्युदण्ड दिने समय सर्‍यो

काठमाडौं । निर्भया सामूहिक बलात्कार तथा हत्या आरोपका चार युवालाई मृत्युदण्ड दिन तोकिएको मिति सरेको छ ।

भारतको तिहाड कारागारका अधिकारीहरुले सामूहिक बलात्कार गरेका चारजना दोषी मुकेश सिंह, विनय शर्मा, अक्षय सिंह र पवन गुप्तालाई यही वर्षको सुरुमा मृत्युदण्डको सजाय तोकेका थिए । अदालतले यही जनवरी २२ को बिहान ७ बजे मृत्युदण्ड दिने फैसला भए पनि स्थगित भएको छ । नयाँ निर्णय अनुसार फेब्रुअरी १ मा मात्रै उनीहरुलाई मृत्युदण्ड दिइनेछ । १ फेब्रुअरीको बिहान ६ बजेका लागि समय तोकिएको छ ।

उनीहरुले आफ्नो परिवारलाई अन्तिम पटक भेट्ने र सम्पत्तिको स्रोतबारे कुनै जवाफ दिएका छैनन् । भारतको कानुन अनुसार मृत्युदण्ड पाउनुअघि कसुरदारले आफ्नो परिवारको आफूले चाहेको व्यक्तिलाई अन्तिम पटक भेट्न पाउँछ ।

साथै आफ्नो सम्पत्तिको हकदार कसलाई बनाउने भन्ने प्रश्न पनि कसुरदारलाई अदालतले सोध्छ । तर निर्भया हत्याकाण्डका दोषीले यी दुबै प्रश्नको जवाफ नदिएको भारतीय मिडियाले जनाएका छन् ।

अन्तिम समयमा मौन रहेपछि उनीहरुले थप समय मागेको हुनसक्ने अनुमान गरिएको छ । साथै दुई अभियुक्तले अदालतको फैसलापछि पुनर्विचार गर्न निवेदन दिएका थिए । निर्भयाका परिवार र आफन्तले भने दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गर्दैआएका थिए । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?