जितसँगै युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा

काठमाडौं । जित हात पर्दै युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रोमालाई ३-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स सेमिफाइनलमा प्रवेश गरेको हो । घरेलु मैदानमा खेलको २६ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

खेलको ३८ औं मिनेटमा रोड्रिगो बेन्टनकुरले गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए । पहिलो हाफको इन्जुरी समयमा लियोनार्दो बोनुचीले गोल गर्दा पहिलो हाफमा युभेन्ट्स ३-० ले अघि रह्यो ।

दोस्रो हाफमा युभेन्ट्सले एक आत्मघाती गोल गर्यो । खेलको ५० औं मिनेटमा रोमाका अण्डर्सको प्रहार पोस्टको क्रस बारमा लागेर फर्कदै गोलकिपर बुफोनलाई लागेर गोल भएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेन र युभेन्ट्स ३-१ ले विजयी भयो ।

अब युभेन्ट्सले एसी मिलान र टोरीनोबीचको विजेतासँग खेल्नेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?