‘३० वर्षे’ हटाउने कसरत

काठमाडौँ, ११ माघ- उच्च प्रहरी अधिकृतहरूको अनावश्यक दरबन्दी थप्ने ‘चलखेल’ सँगै नेपाल प्रहरीमा सेवा अवधि बढाउने कसरत सुरु भएको छ । त्यसका लागि प्रहरीमा हाल रहेको ३० वर्षे सेवा अवधिपछि अवकाश हुने व्यवस्था हटाउने कसरत भएको हो, कान्तिपुरले खबर छापेको छ  स्रोतका अनुसार आगामी चैत २८ मा अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकृतको ‘स्वार्थ’ मा प्रधानमन्त्री शेरबहादुर देउवाले नै यसमा अग्रसरता लिएका छन् । ३० वर्षे सेवा अवधि हटाउने व्यवस्थासहितको प्रस्तावित संघीय प्रहरी ऐन अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराउन छलफल सुरु भएको छ । अध्यादेश जारी भए प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिको व्यवस्था खारेज हुनेछ प्रहरी नियमावली, २०४९ ले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ । तर, प्रस्तावित संघीय प्रहरी ऐनको अध्यादेशमा पदावधि र ५८ वर्षको उमेर हदका कारण मात्रै अवकाश पाउने व्यवस्था छ । अध्यादेशमा प्रहरी महानिरीक्षकका लागि तीन वर्ष, अतिरिक्त प्रहरी महानिरीक्षकका लागि दुई वर्ष र नायब प्रहरी महानिरीक्षकका लागि चार वर्ष पदावधि प्रस्ताव गरिएको छ । सरकारले अध्यादेश पारित गरे अवकाशको मुखमा रहेका उच्च प्रहरी अधिकृतहरूको करिब दुई वर्ष सेवा अवधि थप हुनेछ । त्यसैले पनि २८ चैतमा अवकाश पाउन लागेका वर्तमान महानिरीक्षक प्रकाश अर्यालका ब्याची १६ जना एआईजी अध्यादेश जारी गराउने ‘दौडधुप’ मा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?