प्रेस युनियनको महाधिवेशन चैत २१ मा नेपालगञ्जमा

नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको आज चितवनमा सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी चैतको २१ र २२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

युनियनको प्रतिष्ठान, जिल्ला र विदेश गरी ८७ शाखा छन् । शाखाबाट आएका झण्डै एक हजार ५०० भन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताए । हालसम्म ७० शाखामा अधिवेशन भई सकेको छ । बाँकीमा माघभित्र अधिवेशन सक्ने बैठकले निर्णय गरेको महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए ।

महाधिवेशन सम्पन्न गर्न अध्यक्ष सिग्देलको संयोजकत्वमा महाधिवेशन तयारी मूल आयोजक समिति र डेमोक्रेटिक लर्यस एशोशिएशनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने बैठकले निर्णय गरेको शिवाकोटीले जानकारी दिए । अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव शिवाकोटी रहेको तीन सदस्यीय विवाद समाधान समिति गठन भएको छ ।

महासचिव शिवाकोटीको संयोजकत्वमा साङ्गठनिक, कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक र उपमहासचिव प्रेम केसीको संयोजकत्वमा स्थानीय व्यवस्थापन समिति बैठकले गठन गरेको छ ।

बाँकी १५ शाखाको अधिवेशन तथा बाँकी रहेको शाखाको सदस्यता शुल्क माघ मसान्तभित्र केन्द्रीय कार्यालयमा नबुझाएमा महाधिवेशनमा मतदानको अधिकार नहुने बैठकले निर्णय गरेको छ । बैठकले चितवन शाखालाई उत्कृष्ट शाखा घोषणा गर्ने निर्णय गरेको छ । नेपालगञ्जमा हुने नवौँ महाधिवेशनले युनियनको तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि युनियनको आठौँ राष्ट्रिय महाधिवेशन विसं २०७१ भदौ २१ र २२ गते पोखरामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?