संस्थागत निर्णय गरेरमात्र सरकारमा जान राजपालाई दवाव

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेताले सरकारमा जाने विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेरमात्र अगाडि बढ्न लिखित माग गरेका छन् । राजपाका वरिष्ठ उपाध्यक्षहरु सर्वेन्द्रनाथ शुक्ला र वृषेशचन्द्र लाल, उपाध्यक्ष गोविन्द चौधरी र रमेशप्रसाद यादव तथा महासचिव विजयकुमार सिंहले आज अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवलाई पत्र लेख्दै पार्टीभित्र संस्थागत निर्णय गरेरमात्र सरकारमा सहभागी हुने माग गर्नुभएको हो ।

“सरकारमा सहभागी हुने जस्तो गम्भीर विषयमा पार्टीको राजनीतिक समिति र पार्टीको केन्द्रीय समितिमा छलफल गर्नु आवश्यक छ । अतः यसबारे पार्टीमा संस्थागत निर्णयमार्फत मात्र निष्कर्षमा पुग्न हामी माग गर्दछाँ”, पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा संविधान संशोधन गई मधेशी, थारू, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत मुद्दा सम्बोधन तथा रेशम चौधरीलगायत आन्दोलनकारीमाथि चलाइएका राजनीतिक मुद्दाहरु खारेज गरी तिनको रिहाइ नहुन्जेल सरकारमा सामेल हुनु भनेको सयौँ शहीदको बलिदान र आन्दोलनकारीको सङ्घर्षको अपमान हुने ठहर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?