निर्माण व्यवसायी र निर्माण उपकरणहरुलाई सुरक्षाको पूर्ण प्रत्याभूति : गृहमन्त्री थापा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बढ्दो असुरक्षाका कारण निर्माण व्यवसायीहरुले काम गर्ने वातावरण असुरक्षित भएको भन्दै गृहमन्त्री रामबहादुर थापाको गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघका महासचिव रोशन दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले मंगलवार गृहमन्त्री थापा समक्ष दिनहुँजसो व्यवसायीका उपकरण जलाइएकोमा कडा आपत्ति जनाउँदै भरपर्दो सुरक्षाको माग गरेका छन्।

जवाफमा गृहमन्त्री थापाले निर्माण व्यवसायी र उनीहरुका उपकरणलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिइने आश्वासन दिनु भएको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले जानकारी दिए।

मन्त्री थापाले अज्ञात समूहका आपराधिक गतिविधि धरै नियन्त्रणमा आइसकेको भन्दै त्यस्ता गतिविधिलाई अब पूर्ण नियन्त्रण गरिने बताए । साथै उनले जलाइएका उपकरणको क्षतिपूर्ति दिन सरकारले नीति नै ल्याउन लागेको जानकारी दिनु भएको प्रवक्ता चौलागाईले उल्लेख गरे।

महासंघ प्रतिनिधिमण्डलले मंगलवार नै विकास समितिका सभापति कल्याणी खड्कालाई समेत निर्माण व्यवसायी र उनीहरुका उपकरण माथिको सुरक्षा चिन्ता बारे अवगत गराएको छ ।

जवाफमा खड्काले विकास समितिको बैठकमा यस विषयमा छलफल गरिने जानकारी दिए । अज्ञात समुहले आइतबार मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका अन्र्तगत आइतबारेमा तीन वटा एस्क्साभेटरमा आगजनी गर्दा ३ करोड ५० लाख रुपैया भन्दा बढीको क्षति भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार किसानचोक–रमिते–आइतबारे–टाँडी सडक खण्ड निर्माणमा प्रयोग भइरहेको शर्मा–भिमेश्वर जेभी कम्पनीको एक्साभेटरमा आगजनी गरिएको थियो ।

त्यस्तै झापा जिल्लाको सेतुमारीमा पनि आइतबार अज्ञात समुहले शर्मा एण्ड कम्पनीको स्वामित्वमा रहेको एउटा एस्काभेटर र ब्याक्हो लोडरमा आगजनी गरेको महासंघले जनाएको छ ।

त्यस्तै केही समय अघि बेनी नगरपालिका बगुवखोला नजिक निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण घर्ती क्षेत्रीको स्वामित्वमा रहेका तीन वटा स्काभेटरमा आगजनी गरिएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिइएको मध्यपहाडी लोकमार्ग अन्र्तगत भोजपुर दिक्तेल सडकखण्ड निर्माण कार्य गरिरहेको गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सन प्रा।लि।को स्वामित्वमा रहेको ४ वटा एक्साभेटरमा पनि केही समय अघि आगजनी हुँदा करीब ४ करोड रुपैयाँ बराबराको क्षति भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?