पुलिस र एपीएफ समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब र एपीएफ क्लब राजधानीमा जारी पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला-पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मंगलबार भएको समूह चरणको अन्तिम खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै पुलिस समूह सी को विजेता बनेको हो । पुलिसले मणिमुकुन्दमाथि २५-१४, २५-२० र २५-१४ को सेटमा जित निकाल्यो । जितसँगै समूह सी को पुलिसले २ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा पुलिसले पार्वती भलिबल क्लबबाट वाक ओभर पाएको थियो ।

मणिमुकुन्द समूह उपविजेता बन्दै अन्तिम आठमा पुग्न सफल भयो । मणिमुकुन्दले २ खेलमा ३ अंक जोड्यो । पुरुषतर्फ नै मंगलबार एपीएफले जावलाखेल भलिबल केन्द्रलाई ३-० को सेटमा हरायो । एपीएफले जावलाखेललाई २५-१४, २५-१० र २५-९ ले पाखा लगायो ।

जितसँगै समूह बी को विजेता बन्ने क्रममा एपीएफले ३ खेलमा ६ अंक जोड्यो । पहिलो खेलमा एपीएफले बुलबुले रारा क्लबलाई हराएको थियो ।

यस समूहबाट बुलबुले रारा उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । बुलबुलेले दोस्रो खेलमा जावलाखेललाई हराएको थियो । बुलबुलेले २ खेलमा ३ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?