यात्रुलाई ढाटेको ढाट्यै यातायात व्यवसायी, सरकारसँगको प्रतिवद्धता कुल्चेर गुन्द्रुक झैँ कोच्दैछन् यात्रु (फोटोफिचर)

काठमाडौं । सार्वजनिक सवारी भन्ने बित्तिकै सबैको टाउको दुखाईको विषय बनेको छ हिजोआज । अझ दैनिक रुपमा सार्वजनिक यातायात चढ्नुपर्ने, विद्यार्थी र कर्मचारीलाई त सास्ती नै बनेको छ सार्वजनिक सवारी । भनेको समयमा नपाइनु त छदै छ तर त्यसैमाथि गुन्द्रुक कोचे झैँ कोच्चिनु पर्ने बाध्यता आम यात्रुलाई छ । घन्टौं जाममा पर्नुको पीडा दैनिकी नै बनेको छ सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरुको ।

गत पुष २३ गते महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालय र यातायात व्यवसायीबीच यातायातलाई व्यवस्थित गराउन १९ बुँदे प्रतिवद्धता भयो । उक्त प्रतिवद्दतामा यातायात व्यवसायीले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु नचढाउने सम्झौता गरेका थिए ।

त्यतिमात्र नभई यातायात व्यवसायीले तोकिएको भाडादर मात्र लिने, ढोका खुला गरी नचलाउने, आरक्षण सिटको पालना गर्ने, सिट दुरुस्त राख्ने, गाडीको रंङरोगन गर्ने, चालक सहचालकले राम्रो व्यवहार गर्ने, सवारी तीव्र गति तथा लापरवाहीका साथ नचलाउने, चालकले यात्रुसँग अनावश्यक गफ नगर्ने, चालकले मोबाइल फोन प्रयोग नगर्ने, सवारीसाधनको नियमित सरसफाइ गर्ने, अरूलाई बाधा पुग्ने गरी ठूलो आवाजमा म्युजिक नबजाउने, सवारीसाधनमा स्टिकर तथा झल्लर नलगाउने, सवारीसाधनको अवस्था ठीक राखी चलाउने, चालकले जुत्ता लगाएर मात्र सवारी चलाउने, तोकिएको स्थानमा मात्र यात्रु ओराल्ने तथा चढाउने, प्रयोजन विपरीत सवारी प्रयोग नगर्ने प्रतिबद्धता ट्राफिक प्रहरीसमक्ष गरेका थिए ।

तर त्यो सम्झौता सम्झौतामै सिमित रहेको छ । अहिले पनि यात्रुहरु खचाखच कोचिएर यात्रा गर्न बाध्य छन् । त्यति मात्र नभएर चर्को आवाजमा म्युजिक बजाउने, तिब्र गतिमा सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्ने जस्ता समस्या ज्यूँ को त्यूँ रहेको छ । लोकपथ डटकमले काठमाडौंको एनएसी, सुन्धारा, पुरानो बसपार्क, जमल लगायत विभिन्न ठाउँमा पुगेर सार्वजनिक सवारी साधनको अवस्थाबारे स्थलगत अवलोकन गरेका छौँ ।

हामीले त्यहाँ रहेका यात्रुहरुलाई तपाईले सार्वजनिक यातायातमा कस्तो समस्या भोगिरहनुभएको छ रु भन्ने प्रश्न गर्दा यात्रुहरुले जवाफमा गुन्द्रुक झैं कोचिएर यात्रा गर्नुपर्ने, भनेको समयमा गाडी नपाइने, यात्रु चढाउने बेला जहाँ पनि रोक्ने अनि ओराल्दा भनेको ठाउँमा नरोक्ने लगायत धेरै समस्या औंल्याएका थिए ।

सार्वजनिक यातायातमा यात्रुहरुले भोगेका सास्तीलाई हामीले क्यामेरामा कैद गरेका छौँ ।

हेर्नुहोस् १३ तस्वीरमा 

तस्वीर : गोकुल पौडेल

यो पनि पढ्नुहोस् : 

सार्वजनिक सवारी, टाउको दुखाई सधै भरि (फोटो फिचर)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?