दुई अर्ब ४१ करोड बढी राजस्व संकलन

चितवन, १० माघ । आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४–०७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो “लक्ष्यभन्दा ११०.३७ प्रतिशत बढी राजस्व संकलन भएको छ,” उनले भने । कार्यालयले गत आवको पुस मसान्तसम्ममा रु छ अर्ब ९० करोड ९५ लाख ४९ हजार राजस्व संकलन गरेको थियो विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट रु सात अर्ब ८८ करोड ३४ लाख नौ हजार राजस्व संकलन भएको छ । कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताए बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकासलगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उनले बताए । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?