नेपालको हावा विश्वकै गुणस्तरहीन, १८० देशमध्ये १७६ औं स्थानमा

काठमाडौं, १० माघ । हामीले दैनिक श्वास फेर्ने नेपालको हावाको गुणस्तर विश्वकै खराब रहेको एक अध्ययनले देखाएको छ । सेन्टर फर इन्भारोमेन्टल ल एण्ड पोलिसी (येल विश्वविद्यालय ) र सेन्टर फर इन्टरनेशनल अर्थ साइन्स इन्फर्मेसन नेटवर्क, कोलम्बिया युनिभर्सिटीले वर्ल्ड इकोनोमिक फोरमसँग मिलेर नेपालसहित १८० देशको वातावरणीय अवस्थाबारे अध्ययन गरेको थियो । जसमा नेपाल १ सय ७६ औं स्थानमा परेको छ । यसबाट नेपालको हावा निकै गुणस्तरहीन रहेको देखिएको छ । नेपालका धेरै घरहरुमा अझै पनि दाउरो बाल्ने गरेको र जनसंख्याको ठूलो हिस्सा ‘पीएम २.५’ (आँखाले देख्न नसकिने प्रदुषणका कणहरु) को जोखिममा रहेको रिपोर्टमा उल्लेख छ । वातावरणको स्वास्थ्य सूचकांकको अवस्था भयावह रहेपनि त्यस अन्तर्गत रहेको वनसम्वन्धी सुचकांक भने राम्रो देखिएको छ । विगत ५ वर्षमा भएको जंगल फडानीको आधारमा तयार पारिएको यो सूचकांकमा नेपाल १३ औं स्थानमा परेको छ । भारतको वातावरणको स्वास्थ्य नेपालको भन्दा खराब छ । यो सूचीमा भारत १७७ औं स्थानमा छ भने त्यसपछि क्रमशः कंगो, बंगलादेश र बुरुन्डी छन् । पर्यावरण सूचकांकमा सार्क देशहरु मध्ये श्रीलंका सबैभन्दा अघि रहेको छ । श्रीलंका ७० औं स्थानमा रहँदा माल्दिभ्स १११, भुटान १३१, अफगानिस्तान १६८, पाकिस्तान १६९ औं स्थानमा छन् । वातावरणीय हिसाबले सबैभन्दा राम्रो स्विट्जरल्याण्डमा रहेको अध्ययनले देखाएको छ । सूचकांकमा फ्रान्स दोस्रो, डेनमार्क तेस्रो, माल्टा चौथो र स्वीडेन पाँचौं स्थानमा छ । एसियामा जपानको वातावरणको स्वास्थ्य राम्रो देखिएको छ । जापान यो सूचीको २० औं स्थानमा रहेको छ । अर्को नेपालको छिमेकी राष्ट्र चीन भने यो सूचीमा १२० औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?