खगेन्द्रप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’, यसरी सम्झियो उनलाई

काठमाडौं । विश्वका सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापा मगरको २७ वर्षको उमेरमा शुक्रवार मृत्यु भएपछि गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

बाग्लुङ जिल्लाका खगेन्द्रको उचाई दुई फिट ४१ इञ्च अर्थात् ६७.०८ सेन्टिमिटर थियो । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’ खगेन्द्रले आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको बताएको छ।

सन् २०१० मा १८ वर्षको उमेरमा उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा होचा व्यक्तिका रूपमा दर्ता गरेको थियो। गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रको मृत्युको खबरले दु:खी भएको विज्ञप्तिमार्फत् जनाएको छ ।

उनका पिता रूपबहादुर थापा मगरले उनी जन्मिँदा हातमा अटाउने र नुहाइदिन गाह्रो हुने कुरा सम्झेको पनि विज्ञप्तिमा उल्लेख छ । उनका साथीहरूका अनुसार उनीमा मुटुको समस्या, दम र निमोनियाबाट पीडित थिए।

⁣⁣सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन्  ‘खगेन्द्र अब हामीसँग नरहेको भन्ने नेपालबाट खबर सुनेर हामी निकै दुःखी भएका छौँ। ⁣ उनको चम्किलो मुस्कानले उनलाई भेट्ने जो कोहीको पनि मन पग्लिन्थ्यो।’

नेपालकै ५४.६ सेन्टिमिटरका चन्द्रबहादुर डाँगी पत्ता लागेपछि थापा मगरले सबैभन्दा होचा व्यक्तिको उपाधि गुमाएका थिए। तर चन्द्रबहादुरको सन् २०१५ मा मृत्यु भएपछि पुन: खगेन्द्रको नाम लेखियो।

खगेन्द्रको मृत्युपछि संसारको सबैभन्दा होचा व्यक्ति कोलम्बियाका ७०.२१ सेन्टिमिटरका ३२ वर्षीय इडवार्ड फर्नान्डेज भएका छन्। ⁣

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?