देउती बज्यै मन्दिरलाई मगन्तेमुक्त घोषणा

सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकिय धार्मिक स्थलमा देउती बज्यै मन्दिरलाई मगन्तेमुक्त घोषणा गरिएको छ । मन्दिर परिसरमा बसेर माग्दै आएका मगन्तेलाई उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरलाई शनिवार मगन्तेमुक्त घोषणा गरेका हुन् ।

यसअघि मन्दिर परिसरमा बसेर माग्दै आएका व्यक्तिहरु बेसाहारा नभईँ पेशेवर मगन्ते रहेको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।आश्रममा लगेकै दिन उनीहरुका आफन्तको जिम्मा लगाइको बताएकी ढकालले उनीहरुलाइ फेरि माग्न पठाएमा कारवाही गर्ने कागज गरेर छाडिएको जनाइन् । उनका अनुसार अबदेखी बजार वा धार्मिक स्थलमा कुनै पनि व्यक्तिले माग्न पाउने छैनन् ।

वीरेन्द्रनगरका सडक पेटीमा माग्दै दैनिकी गुजार्नेहरुलाई उद्धार गरेर आश्रममा राखिएको छ । आश्रममा हाल ५३ जना सयोगापेक्षी सडक मानव रहेको आश्रमका संयोजक सिर्जना ओलीले जानकारी दिइन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरेको छ ।

युवराज पंगाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?