अन्नपूर्ण बेस क्याम्प घुम्न गएका चार कोरियाली र दुई नेपाली गाईड बेपत्ता

काठमाडौं । अन्नपूर्ण बेस क्याम्प घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण उनीहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण बेस क्याम्प पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएका पाँचै जनालाई बेस क्याम्पबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए ।

अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियान नागरिक र एक जना गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

अत्यधिक चिसोको कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?