युएई दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

काठमाडौं । युएईको अबुदाबीमा भएको बस दुर्घटनामा मृत्यु हुनको संख्या ६ जना पुगेको छ । जसमध्ये तीन जना नेपाली रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरुमा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङ रहेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यसैगरी ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार रहेको दूतावासले जनाएको छ ।

यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएका १४ जना नेपालीको पहिचान खुलेको छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै घाइते पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किएकी छन् ।

त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरीता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत छन् ।

यो पनि

यूएईमा श्रमिक बोकेको बस दुर्घटना, ६ नेपाली घाइते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?