छात्रालाई प्रतिमहिना ५ सय प्रोत्साहन भत्ता दिनेः मुख्यमन्त्री राउत

लोकपथ
0
Shares

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश भित्र सञ्चालित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्रतिमहिना ५०० प्रोत्साहन भत्ता दिने बताएका छन् ।

प्रदेश नं २, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज वीरगञ्जमा आयोजना गरेको ‘छोरी शिक्षा बीमा सप्ताह शिविर’ उद्घाटन गर्दै उनले भने, “ प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि सामुदायिक विद्यालयको कक्षा १ देखि ८ सम्मका छात्रालाई ५०० का दरले प्रोत्साहन रकम उपलब्ध गराउने तयारी गरेको छ । ”

मुख्यमन्त्री राउतले विद्यालयमा छात्रालाई टिकाइ राख्न यो योजना प्रदेश सरकारले शुरु गर्न लागेको स्पष्ट गर्दै छोरीलाई २० वर्षभित्र २० लाख उपलब्ध गराउने सोचका साथ प्रदेश सरकार अगाडि बढिरहेको छ भने । उनले प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ, बेटी बचाइ’ कार्यक्रमअन्तर्गत एक लाखको बीमा रकमलाई रु २० लाखसम्म पु¥याउने सोचका साथ प्रदेश सरकार अघि बढिरहेको जानकारी दिए ।

मुख्यमन्त्री राउतले छोरी शिक्षाको बीमा रकमलाई वृद्धि गर्न प्रदेशभित्र रहेका स्थानीय तहका प्रमुख तथा अन्य दातृनिकायसँग कुराकानी अगाडि बढाएको उल्लेख गरे ।

छोरी विमा कार्यक्रमका पर्सा जिल्ला संयोजक ईश्वर यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रदीप यादव, प्रदेशसभा सदस्य जन्त अन्सारीलगायतले देश विकासका लागि नारी शिक्षित हुन आवश्यक रहेको र प्रदेश सरकारले थालनी गरेको बीमाले छोरीलाई शिक्षित हुने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

वीरगञ्जको विर्तामा सञ्चालित श्री त्रिजुद्ध माविको सभाकक्षमा आजदेखि शुरु भएको सप्ताहव्यापी बीमा शिविर माघ ९ गतेसम्म सञ्चालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

विसं २०७५ माघ १ गते यता जन्मिएकी छोरीको बीमा गर्न छुट भएकालाई शिविर सञ्चालन गरिएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?