सुदूरपश्चिम प्रदेशलाई हराउँदै पुलिस एमएम कपको फाइनलमा

सुनसरी । नेपाल पुलिस क्लबले सुनसरीमा जारी मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इनरुवामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो । इनरुवा रंगशालामा पुलिसले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिम ३३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३० रनमा समेटियो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए । यस्तै आकाश चन्दले २३ रन जोड्दा खड्क बोहराले १४ रन बनाए । गजेन्द्र बोहरा १२ रनमा आउट भए । पुलिसका सागर ढकाल एक्लैले ५ विकेट लिए । यस्तै ललित राजवंशीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४९ ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो । पुलिसको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ललित भण्डारीले ४० रन बनाए ।

त्यस्तै अनिल साहले ३१, योगेन्द्र सिंह कार्कीले २९ तथा कुशल भुर्तेलले १७ रन बनाए । सुदूरपश्चिमका शेर मल्ल, आकाश चन्द र विनोद लामाले ३ र ३ विकेट लिए ।

पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?