यी कलाकार जो जनावरसँग प्रेममा परे….

कहिलेकाहीँ चलचित्रमा मान्छे होइन जनावर नै सिलेब्रिटीको ‘अपोजिट’मा देखिने गरेका छन् । हामीले हेरेका त्यस्ता धेरै चलचित्र छन् जसमा जनावरलाई पनि नायक/नायिका जति नै पर्दामा देखाइन्छ । उनीहरुको भूमिका महत्त्वपूर्ण हुन्छ ।

कतिपय अवस्थामा त अभिनेता/अभिनेत्रीहरु ती जनावरसँग यति धेरै नजिकिन्छन् कि उनीहरुबीच मानिसमानिस बीचमा हुनेजस्तै सम्बन्ध कायम रहन्छ । छायांकन सकिएपछि पनि उनीहरुको निकटता उस्तै रहन्छ ।

यस्ता कैयौं किस्साहरु छन् जसमा कलाकारहरुले आफूसँग चलचित्रमा अभिनय गरेका जनावरहरुलाई पछि आफैसँग राखेका पनि छन् । केही उदाहरण तल प्रस्तुत गरिएको छ ।

जुन्नी र सोफी टर्नर

विश्वकै सर्वाधिक चर्चा कमाएको टेलिभिजन शो ‘गेम अफ थ्रोन्स’ मा सान्जा स्टार्कको भूमिका निभाएकी सोफी टर्नरले आफ्नो ‘डायर उल्फ’ अर्थात् ब्वाँसोको भूमिकामा देखिएको जुन्नी नामक कुकुरलाई पछि आफैसँग राखेकी थिइन् ।

केही एपिसोडपछि जुन्नीको मृत्यु भएको देखाइएकाले उसलाई शोबाट हटाइयो । जुन्नीसँग जाने ठाउँ थिएन । र, छायांकनका दौरान जुन्नीसँग गहिरो मित्रता कायम भएकाले सोफीले उसलाई एडप्ट गरिन् ।

विल स्मिथ र एब्बी

आइ एम लिजेन्ड नामक चलचित्रमा देखिएको एब्बी नामक जर्मन सेफर्ड प्रजातिको कुकुरले दर्शकको मात्र होइन विल स्मिथको पनि मन जित्यो । चलचित्रको छायाँकनका दौरान उनीहरुबीच यति गाढा सम्बन्ध गाँसियो कि चलचित्रपछि पनि उनीहरु छुटिएनन् ।

जेम्स गन र ओरियो

गार्जेन्स अफ दि ग्यालेक्सीका निर्देशक जेम्स गन र चलचित्रमा रकेट रकुनको भूमिकामा देखिएको ओरियोबीच पनि निक्कै प्रगाढ मित्रता स्थापित भयो । यतिसम्म कि उनीहरु चलचित्रको प्रिमियरका दिन रेड कार्पेटमा पनि सँगै देखिए ।

टम हार्डी र रोक्को

टम हार्डी कुकुरप्रेमी हुन् । चलचित्र ‘दि ड्रप’का लागि उनले अडिसन दिनुको एउटा कारण यो पनि थियो किनकी फिल्ममा मुख्य कलाकारले रोक्को नाम गरेको बेसहारा कुकुरलाई उद्धार गरेको कथा समेटिएको थियो । टमले पछि रोक्कोलाई आफैसँग राखे । अहिले पनि उनी रोक्कोसँगका फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।

एड ओ नील र ब्रिगेट

मोडर्न फेमिली नामक चलचित्रमा अभिनेता एड ओ नीलले ब्रिगेट नामक बुल डग प्रजातिको एउटा कुकुर एडप्ट गर्छन् किनकी उसलाई देख्नासाथ उनको मनमा माया पलाउँछ । नीलको वास्तविक जीवनमा पनि यही कथा दोहोरियो । उनले ब्रिगेटलाई चलचित्रपश्चात् पनि आफूसँगै राखे ।

ब्रिगेट एउटा बेसहारा कुकुर थियो जसलाई उसको परिवारले सडकमा लावारिस छोडेका थिए ।

क्रिस इभान्स र डोजर

दि एभेन्जर्स मार्फत् ख्याति कमाएका क्रिसले आफ्ना कोस्टार ‘डोजर’लाई सन् २०१७ मा ‘गिफ्टेड’ नामक चलचित्रको सेटमा भेटेका थिए । डोजरलाई पनि एउटा बेसहारा कुकुर थियो जसलाई उद्धार गरिएको थियो । त्यस चलचित्रपछि भने उसले घर पायो, परिवार पायो ।

भलै डोजर अहिले सानो पप्पी रहेन । ऊ हुर्किसक्यो तर, क्रिसको सामाजिक सञ्जालमा उसलाई वेलावेला देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?