२९ पुष २०७६, मंगलवार १४:२०

गाईगोरु नियन्त्रणमा


प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १४:२०

सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले भारत निकासी गर्दै गरेका गाईगोरु नियन्त्रणमा लिएसँगै आठ लाख ८० रुपैँया राजश्व सङ्कलन गरेको छ । प्रहरीले भारत निकासी गर्दै गरेका ४४ गाईसहित २२३ गोरु नियन्त्रणमा लिएको छ ।

कानूनमा गाई निकासी गर्न प्रतिबन्ध छ भने गोरु भन्सार तिरेर निकासी गर्नुपर्ने प्रावधान छ ।

त्यस्तो कारोवारमा सङ्लग्नले भारत निकासी हुने गोरुको भन्सार नगरी गाईसमेत अवैध निकासी गर्न थालेपछि प्रहरीले गाई गोरु नियन्त्रणमा लिन थालेको छ ।

दुई सातामा प्रहरीले भारत निकासी हुँदै आएका गाई नियन्त्रणमा लिएर गौशाला र गोरु भन्सार कार्यालय पठाएको छ । झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सिमानाको फाइदा उठाउँदै गाईगोरुको व्यापार बढेपछि कुमरखोद, भद्रपुर, गौरीगञ्ज, केचनालगायतका नाकामा कडाइ गरिएको छ ।

योसँगै प्रहरीले दुई सातामा ३८ लाख ३२ हजार रुपैँया बराबरको अवैध सामग्री बरामद गरेको छ । झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार किराना सामग्री मात्रै रु छ लाख ८१ हजार, विद्युतीय सामग्री एक लाख १५ हजार रुपैँया, सवारीसाधन पाटपूर्जा एक लाख २५ हजार रुपैँया, लत्ताकपडा रु आठ लाख ५४ हजार रुपैँया, सुपारी रु १० लाख २७ हजार ५०० र काठ रु एक लाख ५० हजार बराबरको बरामद गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस