मन्त्री पुनद्वारा ओमनका सुल्तान कावुसको निधन प्रति नेपालको तर्फबाट समवेदना

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट ओमानको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन् ।

अन्तराष्ट्रिय नवीरकणीय उर्जासंघ (आइरिना) ओ १० औं साधारणसभामा सहभागी हुन यूएइको अबुधाबी पुग्नु भएका मन्त्री त्यहींबाट ओमानको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका थिए ।

मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाउनुभएको लिखित समवेदनापत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा मन्त्री पनले ओमानको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामना व्यक्त गर्नुका साथै नेपाल र ओमानबीच ४३ वर्षदेखि कायम रहँदै आएको मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

त्यस क्रममा सुल्तान हाइतमले नेपालका राष्ट्पति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपाली जनताका तर्फबाट समवेदना व्यक्त भएकाप्रति धन्यवाद दिए । त्यसका साथै सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत सो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

समवेदान प्रकट गर्ने सिलसिलामा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल तथा मन्त्री पुनका सचिवालय प्रमुखसमेत रहेका नेकपा केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?