चाकु : ‘पियोर’ नेपाली चक्लेट, विदेशमा समेत बेच्दैछन् कृष्ण श्रेष्ठ(भिडियोसहित)

माघे संक्रान्ति नजिकिँदै गर्दा बजारमा चाकुको माग बढेको छ । चाकु अर्थात् नेपाली चक्लेट ।

टोखाका कृष्ण श्रेष्ठ र उनको चाकु उद्योगमा कार्यरत २० जना कर्मचारीलाई पनि भ्याइनभ्याइ छ यतिवेला । किनकी यो चाकुको सिजन हो । दशैं तिहारपछिको ३ महिनासम्म चाकुको ‘सिजन’ चल्छ । यस सिजनमा ३ लाख किलोसम्म चाकु उत्पादन गर्ने बताउँछन् श्रेष्ठ ।

 

कृष्ण आफै पनि चाकु बनाउनेदेखि बेच्नेसम्मको सबै काममा खटिन्छन् । गाडीमा चाकु बोकेर पसलसम्मै आफै पु-याइदिन्छन् । उनले चाकुमा पनि भेराइटी दिएका छन् : सादा, स्पेशल र खुवाको चाकु ।

चाकु उद्योग उनको पुख्र्यौली पेशा हो । सानो छँदा यस काममा आफ्ना बुबालाई सघाउने कृष्ण श्रेष्ठका छोराछोरीहरु आजभोलि उनलाई सघाउँछन् । वर्षौंदेखि यही पेशामा लागेकाले होला उनको चाकुको छुट्टै ब्राण्ड छ बजारमा । श्री कृष्ण चाकु प्रोडक्सन प्रालि नामक उद्योगबाट हरेक दिन ८ सय किलोसम्म चाकु उत्पादन गरिरहेका छन् उनले ।  उद्योग डेढ रोपनी जमिनमा फैलिएको छ ।

यहाँका चाकु नेपालका विभिन्न जिल्लाहरुमा मात्र नभएर विदेशमा समेत निर्यात हुने बताउँछन् श्रेष्ठ । चाकु नेपालीहरुको परम्परागत खानेकुरा भएकाले यसलाई विश्वव्यापी रुपमा नेपालको मौलिक ‘चक्लेट’का रुपमा चिनाउने उनको इच्छा छ ।

उनी भन्छन्, ‘चाकु अन्य चक्लेट वा गुलियो मिठाई जस्तो हानिकारक पनि हुँदैन ।’

माघे संक्रान्तिमा विशेष महत्त्व राख्ने चाकु आखिर कसरी बनाइन्छ ? हेर्नुहोस् भिडियोमा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?