चर्चामा महाशक्ति छिमेकी चीन : राष्ट्रपति सी र ‘सी विचारधारा’

राष्ट्रपति सि जिनपिङ (१९५३) चीनका सर्वोच्च र मूख्य नेताको रुपमा चीनभित्र मानिन्छ । सन् २००२ मा गतिशील नेतृत्वकारी बाटोमा देखापर्न थालेपछि उनलाई पश्चिमी सञ्चार माध्यमहरूले भावी सर्वोच्च नेताको रुपमा चिन्न–चिनाउन थालिसकेका थिए । दोस्रो विश्वयुद्धपछि जन्मेको पुस्ताबाट चीनको कम्युनिस्ट पार्टीको महासचिव र राष्ट्रपति बन्ने पहिलो व्यक्ति र नेतृत्व पुस्तामा पाँचौ सि, लोक गायिका पत्नी पेन लियु यान र हार्वर्ड विश्वविद्यालयमा शिक्षित २७ वर्षे एकमात्र छोरी सि मिङ्जेका पिता हुन् ।
अमेरिकाको फोब्सर्् पत्रिकाले संसारका १०० सर्वाधिक प्रभावशाली व्यक्तिको सूचिमा सी जिनपिङ पहिलो, रूसी राष्ट्रपति पुटीन दोस्रो, अमेरिकी राष्ट्रपति ट्रम्प तेस्रो, भारतीय प्रधानमन्त्री मोदी नवौं स्थानमा रहेका देखाएको थियो ।

नेतृत्वमा आएपछिको पहिलो भाषणमै भ्रष्टाचारलाई माथिदेखि तलैसम्म (उनकै भनाईमा ‘सिंहदेखि झिँगासम्म’) प्रहार गरेका र यसका लागि आठबुँदे मार्गनिर्देशन जारी गरेका कसैलाई बाँकी नराख्ने उनको प्रतिबद्धतामा इमानदारी मात्र छैन, त्यसै क्रममा आफ्नो बाटोका च्यालेन्जर र बाधकलाई पनि सिध्याउने अस्त्रका रुपमा यिनले उपयोग गरे । चीनमा भ्रष्टाचार बिरूद्धको राष्ट्रिय आयोग सर्बोच्च न्यायालयभन्दा माथिल्लो तहमा र त्यति नै शक्तिशाली छ ।

यिनको यो पनि विश्वास छ “निजी सम्पत्ति थुपारेकाहरू सच्चा कम्युनिस्ट हुँदैनन् ।”

सि विचारधाराका १४ आधारभूत विषयवस्तु बुँदागत रुपमा बुझ्दा :

(१) चीनभित्रका सम्पूर्ण क्रियाकलापलाई चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व सुनिश्चित गर्ने

(२) चिनियाँ कम्युनिस्ट पार्टीले जनसरोकारका लागि जनताकेन्द्रित मान्यतालाई आत्मसात गर्ने

(३) संविधानको ‘सुधारलाई बृहत गहिराई’ आत्मसात गर्ने

(४) ‘परिवर्तनात्मक, संयोजित, हराभरा, खुला र समावेशी विकास’का लागि विज्ञानमा आधारित विचारलाई अपनाउने

(५)‘जनता नै देशका सच्चा मालिक हुन्’ भन्ने मान्यताका साथ ‘चिनिया विशेषतासहितको समाजवाद’ को अनुशरण गर्ने

(६) चीनमा विधिको शासन सशक्त बनाउने

(७)चिनियाँ विशिष्टतासहित मार्क्सवाद , साम्यवाद तथा समाजवादका साथ ‘आधारभूत समाजवादी मूल्यहरूको अवलम्बन गर्ने

(८) ‘जनताको आजिविका र जीवनस्तर उन्नत बनाउनु नै विकासको प्राथमिक लक्ष्य हो

(९) ‘ऊर्जा संरक्षण तथा वातावरणीय सुरक्षा’ को नीतिसहित प्रकृतिसँग अनुप्राणित हुने

(१०) राष्ट्रिय सुरक्षालाई सशक्त बनाउने

(११) चीनको ‘जनमुक्ती सेनामा चिनियाँ कम्युनिस्ट पार्टीको पूर्ण नेतृत्व हुनुपर्छ

(१२) ‘पूर्ण राष्ट्रिय एकीककरण’को भविष्यका साथ हङ्कङ् र मकाउको लागि एक मुलुक दुई पद्धतिको परिपाटीलाई प्रवद्र्धन गर्ने र ताईवानसँग सन् १९९२ को सहमति तथा एक चीन नीतिलाई निरन्तरता दिने

(१३) ‘शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण’ का साथ चिनियाँ जनता र विश्वभरिका बाँकी जनताका बीच साझा हित स्थापित गर्ने

(१४)चिनियाँ कम्युनिस्ट पार्टीभित्र अनुशासनलाई सुदृढ बनाउने ।

सन् २०१३ मा चीनको कम्युनिस्ट पार्टीमा आन्तरिक निर्देशनको रुपमा बाँडिएको परिपत्र, जो ‘दस्तावेज नं. ९’ भनी चर्चित छ, मा पश्चिमा लोकतन्त्रका आधारभूत मूल्य मान्यताका ७ वटा विशेषता चीनको शासकीय मोडेलको लागि खतराका रुपमा औँल्याइएको छ, जुन सी विचारधाराको एउटा पक्ष हो भने चिनीयाँ शासनको मोडेल हो । कतै सी विचारधारासँग गत असोजको शुरूमा ६ बुँदे सम्झौता गरेको सत्तारुढ नेकपाले यसलाई पनि अपनाउन गईरहेको त छैन ? लोकतन्त्रलाई कुण्ठित गर्ने र एकदलीय सर्वेसर्वा विशेषतालाई विस्तार गर्न लागेको देख्नेले यो शंका गर्नसक्छ । राष्ट्रपति सि पश्चिमा शैलीको स्वतन्त्र पत्रकारिताका पनि विरोधी हुन् ।

२०१७ को चिनिया राष्ट्रिय कांग्रेसले संविधान नै संशोधन गरी २ कार्यकाल मात्र नेतृत्वमा रहन पाउने प्रावधानलाई परिवर्तन गरी यिनी आजीवन राष्ट्रपति र पार्टी महासचिव हुने भएका छन् । यिनका पिता सि झोङ् सुन माओका अत्यन्त ‘नियर एण्ड डियर’ थिए, तर सांस्कृतिक क्रान्तिकाल (१९६६–७६) मा उनलाई कारवाही गरेर कुनै गाउँको बंगुर फार्ममा काम गर्न पठाएपछि किशोर सी पनि पितासँगै गएका थिए ।

इन्टरनेशनल बिजनेश टाइम्स् पत्रिकाले १८ अक्टुबर २०१० को अंकमा प्रकाशित ‘चीनमा सेना हेर्ने जिम्मासीलाई, राष्ट्रपतीय अभिभारामा एककदम नजिक’ शीर्षक अन्तर्वार्तामा उनले भनेका थिए, “केही दिग्दारलाग्दा भरिपेट भएका विदेशीहरू पनि छन्, उनीहरूको काम हामीतिर औँला तेस्र्याउनेभन्दा राम्रो काम तिनले गर्न जानेका छैनन् । टिपी राख्नुहोस्, पहिलो– चीनले क्रान्ति निर्यात गर्दैन, दोस्रो– चीन भोक र गरिबी निर्यात गर्दैन, तेस्रो– चीन तिम्रो टाउको दुखाई हुन आउँदैन, यहाँभन्दा के भन्ने ?

(There are some bored foreigners, with full stomachs, who have nothing better to do than point fingers at us….. Note down- First, China doesn’t export Revolution; second, China doesn’t export hunger and poverty; third, China doesn’t come and cause you headaches, what more is there to be said ?)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?