कुनै पनि हालतमा माओवादीलाई मुख्यमन्त्री नदिने एमालेको निर्णय

सुर्खेत, ९ माघ – प्रदेश १ र ३ मा जस्तै ६ मा पनि एक्लै सरकार गठन गर्ने हैसियत रहेको भन्दै एमाले प्रदेश संसदीय दलको बैठकले माओवादीलाई सरकारको नेतृत्व नछाड्ने निर्णय गरेको छ । एमाले र माओवादीबीच भागबन्डा गर्नुपरे अरू नै प्रदेश छाड्न बैठकले पार्टीलाई आग्रह गरेको छ सोमबार बसेको संसदीय दलको बैठकले प्रदेश ६ मा एमालेबाट उम्मेदवार बनेका शतप्रतिशत विजयी भएका र एकल बहुमत पुग्ने अवस्था रहेकाले सरकारको नेतृत्व छाड्न नमिल्ने उसको अडान छ । एमालेको प्रदेश ६ कमिटीको पुस ११ गते संघीय राजधानीमा बसेको बैठकले पनि प्रदेश सरकार नेतृत्व आफैंले गर्ने निर्णय गरेको थियो प्रदेश कमिटी सहसंयोजक यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले नेतृत्व आफैं लिनुपर्ने निर्णय गरेको हो । एमाले पोलिटब्युरो सदस्यसमेत रहेका कँडेलले यसबारे पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरिएको जनाए ‘प्रदेशसभाको ५० प्रतिशत संख्या एमालेको छ । त्यो नै हामी एक्लैले सरकारको नेतृत्व गर्न सक्ने हैसियत हो,’ उनले भने, ‘जुन प्रदेशले शतप्रतिशत उम्मेदवारहरू विजयी गराउँछ, त्यसैलाई भागबन्डाका नाममा सरकारको नेतृत्वबाट वञ्चित गर्नु हुँदैन भन्ने हाम्रो जोडदार माग हो ।’४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्र १३, कांग्रेस ६ र राप्रपाका १ जना सदस्य छन् । एमाले–माओवादी गठबन्धनबीच एकीकरणको गृहकार्य भइरहँदा नेताहरूको वरिष्ठतालाई आधार बनाउँदासमेत प्रदेश ६ मा माओवादी केन्द्रलाई छाड्न सक्ने कुनै आधार नभएको बैठकको निष्कर्ष छ । माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही (कालिकोट) र नरेश भण्डारी (जुम्ला) ले मुख्यमन्त्रीको दाबी गरिरहेका छन् । माओवादी केन्द्रले अन्यत्रभन्दा प्रदेश ६ मा आफूहरूको पकड रहेकाले मुख्यमन्त्री आफूले नै पाउनुपर्ने अडान राखेको छ । प्रदेशको राजधानी सुर्खेत भए पहिलो मुख्यमन्त्री कर्णालीले पाउनुपर्ने माओवादीको अर्को तर्क छ, कान्तिपुरले खबर छापेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?