‘सुखी नेपाली, समृद्ध नेपाल’का लागि नागरिकको भूमिका महत्वपूर्ण छ : प्रहरी नायव महानिरीक्षक पोखरेल

काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले शुक्रबार गल्फुटार पार्टी प्यालेसमा ‘सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम’ गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले सुखी नेपाली समृद्ध नेपालको लागि सुशासन अनिवार्य शर्त रहेको बताएका छन् । कार्यक्रममा बोल्दै पोखरेलले भने, “सुशासन, समृद्धि र दिगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ त्यो पूरा गर्न तपाई हाम्रो भूमिका पनि जरुरी छ, “ उनले भने । सबै आकांक्षाहरुमा सरकारको भूमिका मात्र खोज्ने हाम्रा प्रवृत्तिले देश नबन्ने भन्दै उनले सरकारको आकांक्षामा आफ्नो भूमिका कहाँ छ भनी खोजी गरिनुपर्ने बताए ।

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी निर्वाहमा कहीँ कतै कसैसंग कुनै प्रकारको सम्झौता नगरी काम गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । “सुशासन, शून्य सहनशीलता र प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने मेरो एक मात्र उद्धेश्य छ, यसमा यहाँहरु सबैको सहयोगको अपेक्षा गर्दछु,” महानिरीक्षक पोखरेलले भने ।

मुलुकमा विकास, समृद्धि, सुशासन र दिगो शान्ति स्थापित हुँदा त्यसको भोग त्यसका मुख्य नेतृत्वदायीहरुले मात्र नगरी समग्रमा हामी सबै र आउँदो सन्ततीले पनि प्राप्त गर्ने कुरामा उनले जोड दिए ।

मुलुकको विकास समृद्धि, सुशासन र स्थायी शान्तिको जिम्मा सरकारको मात्र नभइ प्रत्येक नागरिकको पनि हुने कुरा सबैले बुझ्नुपर्ने उनले बताए । आफ्नो सुगन्धित महल बनाउनेले घर बाहिर निस्कँदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक तथा शान्त र सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनु पर्दछ भन्ने कुरा कहिले पनि नभुल्न उनले स्मरण गराए ।

“अहिले समाजमा कुनै डरलाग्दा अपराधका घटना घटेका छैनन् , जुन घटनाले सिङ्गो समाजलाई त्रसित बनावस्, तर पनि अपराधका घटनाहरु घर–घरमा भैरहेका छन्, चाहे त्यो महिला हिंसाको घटना होस् चाहे त्यो आफन्तबाट भएका बलात्कारका घटना वा आत्महत्याका, जे भन्नुस यस्ता घटनाको रोकथाम ‘रेगुलर पोलिसिङ’बाट मात्र संभव छैन,” महानिरीक्षक पोखरेलले भने, “त्यसैले यस्तो घटना रोकथाम, नियन्त्रण गर्न नै समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको हो ।”

साथै उक्त अवसरमा बुढानिलकण्ठ नगरपालिकाका मेयर श्री उद्धव प्रसाद खरेलले नेपाल प्रहरीले ल्याएको समुदाय प्रहरी साझेदारी कार्यक्रम समाजमा घटिरहेका अपराध रोकथाम र नियन्त्रण गर्न निकै प्रभावकारी रहेको बताउदै पहिला आफैं सचेत भए मात्र समाज र सम्पूर्ण राष्ट्रको विकास सम्भव भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?