सुर्खेत । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । आगामी माघ ९ गते हुने निर्वाचनका लागि नेकपाका मायाप्रसाद शर्मा आचार्य र सुमित्रा बिसीले निर्वाचन अधिकृतको कार्यालय सुर्खेतमा आज मनोनयन दर्ता गरेका छन् ।
शर्मा भेरी नगरपालिका ११ जाजरकोट तथा बिसी वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेत निवासी हुनुहुन्छ । शर्माको मनोनयन दर्ता प्रस्तावकमा करवीर शाही र समर्थकमा ठम्मर विष्ट तथा बिसीको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य देवी वली र समर्थकमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया भण्डारीले रहेको निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।
सोही निर्वाचनका लागि नेपाली काँग्रेसबाट डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतले मनोनयन दर्ता गरेका छन् । पाठकको मनोनयन दर्ता प्रस्तावकमा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्मा र समर्थकमा पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्र थापा तथा बस्नेतको मनोनयन दर्ता प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर बिसी र समर्थकमा गुर्भाकोट नगरपालिका सुर्खेतका प्रमुख हस्तबहादुर पुन रहेको निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।
दुवै पार्टीका उम्मेदवारले आआफ्नो जीत सुनिश्चित भएको घोषणा गरेका छन् । नेकपाका उम्मेदवार शर्माले देश, जनता र परिवर्तित व्यवस्था कार्यान्वयनका लागि उम्मेदवारी दिएको जनाउँदै जीत सुनिश्चित रहेको बताए। त्यस्तै नेत्री बिसीले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को लक्ष्य पूरा गर्न र महिला तथा उत्पीडित वर्गको न्यायको खातिर आफूले उम्मेदवारी दिएको बताइन्।
कांग्रेसका उम्मेदवार पाठक र बस्नेत दुवैले सरकारको ‘मनपरीतन्त्र’का विरुद्ध आफूले उम्मेदवारी दिएको भन्दै आआफ्नो जीत सुनिश्चित रहेको जिकिर गरे। निर्वाचनका लागि कर्णाली प्रदेशका स्थानीय तहअन्तर्गत ५४ गाउँपालिकाका १०८ अध्यक्ष र उपाध्यक्ष, २५ नगरपालिकाका ५० प्रमुख र उपप्रमुख तथा ४० कर्णाली प्रदेशसभा सदस्य गरी जम्मा १९८ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेकपा र काङ्ग्रेसका उम्मेदवारले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आज गरिएको उम्मेदवारी दर्तामा नेकपाका तर्फबाट अछामका तारामान स्वाँर र कैलालीकी शारदा भट्ट तथा काँग्रेसबाट कैलालीकै तुलसी देवकोटा तथा बैतडीका प्रताप ठगुन्नाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । जिल्लामा रहेका अन्य दलले भने उम्मेदवारी दर्ता गराएनन् ।
राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये सुदूरपश्चिम प्रदेशमा दुई सदस्यका लागि निर्वाचन हुन लागेको हो । सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी कुल २२९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए।
राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त दुई पदमध्ये एक महिला तथा एक पुरुष रहेको मुख्य निर्वाचन आयोगको कार्यालय सुदूरपश्चिम प्रदेश डोटीले जनाएको छ । निर्वाचन जिल्लाको पद्मपब्लिक मुक्तिनारायण माविमा हुने भएको छ ।
दुई मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।
राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिकानुसार आज पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले डोटीले जनाएको छ ।
प्रदेश नम्बर ५
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर नं ५ मा उम्मेदवारले आज घोराहीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
सोअनुसार नेकपा प्रदेश नम्बर ५ बाट अपाङ्ग तथा अल्पसङ्ख्यकबाट जगप्रसाद शर्मा (अपाङ्ग), महिलातर्फबाट विमला घिमिरे र अन्यबाट गोपाल भट्टराईले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।
त्यस्तै काँग्रेसबाट प्रदेश नम्बर ५ मा अपाङ्गता तथा अल्पसङ्ख्यकबाट मेराज हलवाई, महिलाबाट गिरिजा न्यौपाने र अन्यबाट बालकृष्ण पाण्डेले मनोनयन दर्ता गराएका हुन् ।
त्यसैगरी समाजवादी पार्टीबाट बाँकेका सुनिल सिघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराएका छन्।
राष्ट्रियसभा सदस्यमा रिक्त हुन लागेका १८ सदस्यमध्ये प्रदेश नं ५ मा तीन पदका लागि निर्वाचन हुन लागेको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए। प्रदेश ५ मा कुल ३०५ मतदाता छन् जसमा प्रदेशसभाका सदस्य ८७ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना छन् । मनोनयन दर्ता गराउन उम्मेदवारहरु आआफ्ना नेता तथा कार्यकर्तासँग मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा काँग्रेसका सूर्यप्रसाद रेग्मी र विमला गौचनले आज उम्मेदवारी दर्ता गराए । पार्टीका नेता तथा कार्यकर्तासहित पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनीहरुले उम्मेदवारी दर्ता गरेका छन्। रेग्मीको उम्मेदवारीमा गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लले प्रस्ताव गरेका छन् । भने भीरकोट नगरपालिका स्याङ्जाका प्रमुख छायाराम पौडेलले समर्थन गरेका छन् ।
त्यस्तै गौचनको उम्मेदवारीमा जलजला गाउँपालिका पर्वतका उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रस्ताव गरेका छन् । भीरकोट नगरपालिकाका उपप्रमुख सीमा कर्माचार्यले समर्थन गरेका छन्।
यसअघि नेकपाका तर्फबाट गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नारायणकाजी श्रेष्ठ र भगवती न्यौपानेले उम्मेदवारी दर्ता गर्नुभएको थियो । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ९ गते हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया