काठमाडौं । पुस महिनाको मध्य अझ विहान सिमसिमे झरीका बीच उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान जारी रहेको छ ।
वाग्मती सफाइ महाअभियानको ३४७औँ हप्तामा त्रिपुरेश्वर पुलमुनिको नदी किनारमा सफाइ गरिएको छ । सफाइमा १६ संस्थाका ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।
कार्यक्रममा अधिकारसम्पन्न वाग्मतीका अध्यक्ष नरेन्द्रराज बस्नेत, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत अभियानकर्मीको सक्रियता थियो ।
मुक्तिनाथ विकास बैंकको १३ वार्षिक साधारणसभाका अवसरमा वाग्मती सफाइ महाअभियानलाई डोको, माक्स, पञ्जालगायत सामग्री पनि हस्तान्तरण गरिएको थियो ।
सामग्री हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले उपत्यकाका नदी सफाइ अभियानमा निरन्तर सहयोग गरिने प्रतिबद्धता जनाए ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३०९औँ हप्तामा गोकर्णेश्वर महादेव मन्दिरमुनिका नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजना र नगरपालिका–४ आतिथ्यतामा सफाइ भएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।
रुद्रमती सफाइको २९८औँ हप्तामा रातोपुलबाट रुद्रनगर हुँदै सेतोपुलसम्मको नदी किनारमा सफाइ गरियो । सुरक्षा निकायसहितको सहभागितामा भएको सफाइबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरिएको अभियानकर्मी रोहित गिरीले बताए । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
चक्रपथ उत्तर खण्ड सफाइको १४५औँ हप्तामा गोङ्बुस्थित आकाशे पुलमुनिको क्षेत्रमा सफाइ गरी पाँच टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी तिलक बस्नेतले जानकारी दिए ।
सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । मनोहरा सफाइ तथा सम्पदा बचाउ अभियानको १४६औँ हप्तामा महानगरपालिका–३२ स्थित मनोहरा नदीको नीलो पुल क्षेत्रमा सफाइ गरी चार टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए ।
यसैगरी आज उपत्यकाका वाग्मतीको तिलगङ्गा र सुन्दरीघाट खण्ड, आलोकनगर, चक्रपथको पश्चिम खण्डलगायत स्थानमा पनि सफाइ गरिएको थियो ।
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि हाल देशभरका १०६ भन्दा बढी स्थानमा स्वतःस्फूर्त रुपमा अभियान चलेको छ ।
‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ हजारौँ मानिस सफाइको जागरण अभियानमा सहभागी हुने गरेका छन् । जनस्तरबाट शुरु भएको सफाइ अभियानले ३५० हप्ता पूरा गर्न लागे पनि सरकारीस्तरबाट चासो नदिएको बताइएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया