२०७६, १९ पुष शनिबार १०:००

आगोले जलेर पुनर्जीवन पाएकाहरुको समूह : ‘राधाज् बर्न सर्भाइभर टिम’

जो छरिएका खुसी समेटेर सुन्दर जीवनरुपी माला गाँसिरहेछन्....


प्रकाशित मिति : २०७६, १९ पुष शनिबार १०:००

साहसको एउटा नाम हो राधा श्रेष्ठ । सबैतिरबाट दुख र पीडाको खात थुप्रिँदा पनि एउटा सानो आशाको त्यान्द्रोले मान्छेलाई कसरी बचाएर राख्दो रहेछ भन्ने कुरा राधाको जीवनले बताउँछ ।

सन् २००६ मा आफ्नै घरमा सिलिन्डर ग्याँस पड्किएर लागेको आगोले राधाको शरीर जलायो । सोही घटनामा राधाकी आमाको मृत्यु समेत भयो । उही आमा जसको सहारा बन्नलाई राधाले जीवनभर अविवाहित बस्ने निर्णय गरेकी थिइन् । छोरा नपाएको निहुँमा आफ्ना बुबाले दिनरात आमालाई पिटेको, यातना दिएको देखेपछि नै राधामा आफू ‘छोरा’ भएर आमाको हेरचाह गर्ने सोच पलाइसकेको थियो । तर, त्यस घटनापछि राधा एक्लो भइन् । बाँच्ने इच्छा विस्तारै हराउँदै गएको उनी सुनाउँछिन् ।

आमाको भन्दा मेरो अवस्था नाजुक भएकाले सबैले म चाहिँ मर्छु भन्ने सोचेको रहेछन्,’ राधा त्यो क्षण सम्झिन्छिन्, ‘तर, म अचम्मले बाँचें ।’
‘जसको लागि बाँचिरहेको थिएँ उहाँ नै नरहेपछि मलाई बाँच्नै मन लागेन, आमासँगै जान मनलाग्यो,’ उनी अगाडि थप्छिन् । त्यसपछि राधाले खाना खान छोडिन् । औषधी पनि खान मन लाग्दैन थियो । निको हुने इच्छा नै थिएन ।

यद्यपी, समय बित्दै जाँदा राधालाई आफूले पाएको नयाँ जीवन आफ्नी आमाले छाडेको उपहारजस्तो लाग्न थाल्यो । जाने त गइहाले तर, बाँच्नेले कम्तीमा पनि जीवनलाई निरन्तरता दिनुपर्छ भन्ने भावले नकारात्मक सोचलाई परास्त गर्दै गएको बताउँछिन् उनी ।

‘तर आफूले मात्र आत्मविश्वास जुटाएर नहुँदो रहेछ, समाजले पनि त साथ दिनुप-यो,’ आफ्नो जलेको रुप र शरीर देख्दा मान्छेहरु घिनाएको, डराएको, नजिकिन हिच्किचाएको त्यो क्षण सम्झिँदै राधा भन्छिन्, ‘म त अर्कै ग्रहको मान्छेजस्तो गर्थे सबैजनाले त्यसैले आफ्नै जीवन भारी लाग्न थाल्यो ।’

यत्तिकैमा राधाले यही बोझ उचालेर वर्षौंदेखि बाँचिरहेका अन्य दिदीबहिनी भेटिन् । आफू मात्र यो पीडाबाट गुज्रिएको रहेनछु भन्ने भावले मात्रै पनि उनको आत्मविश्वासमा श्वास थपिदियो । राधाको मन एकाएक हलुङ्गो भएर आयो । परिणामस्वरुप, आफू र आफूजस्तै अन्य दिदीबहिनीको उजाड जीवनमा रङ्ग भर्ने सपना बोकेर राधाले स्थापना गरिन् ‘राधाज् बर्न सर्भाइभर टिम’ ।

आगोले जलेर पुनर्जीवन पाएका महिलाहरुको समूह हो यो । उनीहरु एकै ठाउँ भेला भएर सुखदुख बाँड्छन्, हाँस्छन्, रमाउँछन्, दुईचार पैसा आम्दानी होस् भनेर पोते, माला, झुम्का, चुरा, मैनबत्ती बनाउँछन् । छरिएका दानाहरु समेट्दै सुन्दर माला उनेको दृश्य देख्दा लाग्छ उनीहरु आफ्नै जीवनलाई समेटेर आकर्षक मालाका रुपमा तयार गर्दैछन् ।

सकिएजस्तो लागेको जीवनमा एकाएक यति धेरै हौसला र आडभरोसा मिलेकोमा सबैजना राधाप्रति आभारी छन् । राधा पनि आजभोलि एक्लो महसुस गर्दिनन् । शरीरमा घाउका खाटाहरु अझै प्रष्ट देखिएपनि समयले त्यसको दुखाइलाई विस्तारै निको बनाउँदै ल्याएको छ । आगोले उनको शरीरको ३० प्रतिशत भाग जलाएपनि आत्मविश्वास भने जलाउन सकेन ।

राधाको साहसको कथा हेर्न भिडियो लिंक क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस