नेकपाका वडा संयोजक राप्रपा (संयुक्त)मा प्रवेश

नुवाकोट । ककनी गाउँपालिका वडा नं २ का पार्टी संयोजक सिताराम घिमिरे राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मा प्रवेश गरेका छन् ।

गत स्थानीय निर्वाचनमा नेकपाबाट वडा सदस्यका उम्मेद्वारसमेत रहेको उनी मंगलबार राप्रपा (संयुक्त)मा प्रवेश गरेका हुँन् ।

उनलाई राप्रपा (संयुक्त)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष लोहनीले समाजवादको नाममा सत्तारुढ दलले देशमा लुटतन्त्र मच्चाएको र संस्थागत भ्रष्टाचार गाउँ गाँउ पुर्याउने कार्य गरेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

अध्यक्ष लोहनीले भने, नेकपाको सरकारले नेपाल ट्रष्टको सम्पति हिनामिना, वाइड बडी जहाज खरीद प्रकरण, ललिता निवास जग्गा प्रकरण, ३३ किलो सुन प्रकरण र विराटनागर जुट मिलको चल अचल सम्पत्ति हिनामिना जस्ता अनियमिततामा कानुन बमोजिमको अनुसन्धान गरी दोषी उपर कारवाही गर्नुपर्दछ ।

जनता र लोकतन्त्रको दुहाई दिने सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग र मानव अधिकार आयोगका अधिकार कटौति गरेर संवैधानिक अंगहरुलाई पंगु बनाउन लागी परेको लोहनीले आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?