काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् ।
काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक-पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउन बाध्य भएर तालाबन्दी गर्नुपरेको दुवै सङ्घले जनाएका छन् ।
दुवै सङ्घले पत्रकार सम्मेलन गरी सम्झौता कार्यान्वयनका लागि डिन, रजिष्ट्रार र उपकुलपतिसमेतलाई पटक–पटक ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेका कारण आफूहरुले विश्वविद्यालयमा भएको बेथिति निस्तेज पार्न दवावस्वरूप तालाबन्दीलगायतका आन्दोलन गर्नुपरेको बताएका छन् ।
काठमाडौं विश्वविद्यालय प्राध्यापक सङ्घका सभापति डा वेदमणि दाहालले मङ्गलबारदेखि नै काठमाडौं विश्वविद्यालय केन्द्रीय हाताका डिन कार्यालय, परीक्षा नियन्त्रणको कार्यालय, टेक्निकल ट्रेनिङ सेन्टर (टिटीसी) प्रशासकीय भवनलगायत सम्पूर्ण कार्यालय बन्द गरिएको बताए ।
गत भदौ ३० गते भएको सम्झौताका बुँदा कार्यान्वयन गर्ने निर्णय भए पनि पुस ४ गते भएको दीक्षान्तसभामा प्रस्तावित मस्यौदा पेश हुन नदिएको, कार्यकारी परिषद्को निर्णयसहित विश्वविद्यालय आफैँले गरेको प्रस्तावको विरुद्धमा मन्तव्य तथा लबिङ विश्वविद्यालयका नेतृत्वबाट नै भएको, सभासदलाई बेलैमा प्रस्तावबारे जानकारी गराउनुपर्नेमा नगराएको र पटक-पटकको निर्णयपश्चात शिक्षक तथा कर्मचकारीका आमन्त्रित प्रतिनिधिलाई सभामा बोल्ने मौका नदिई अपमानित हुने वातावरण सिर्जना भएको भन्दै यसअघि भएको निर्णय कार्यान्वयन नभएसम्म काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यालयका उपकुलपति, रजिष्ट्रार र डिन कार्यालय पूर्णरूपमा बन्द गरिएको सभापति दाहालले बताए ।
काठमाडौं विश्वविद्यालय कुनै निजी संस्था नभई सार्वजनिक संस्था भएकाले सार्वजनिक ऐन, निमय र कानूनअनुसार चल्नुपर्छ भनेर आन्दोलन शुरु गरेको सभापति डा दाहालले बताए । सङ्घका महासचिव विकास अधिकारीले विश्वविद्यालय सीमित व्यक्ति, जाति, भूगोल र लिङ्गको नभई सबैको भएकाले अझ राम्रो गर्नका लागि बौद्धिक जगत्का प्राध्यापकले सुधारका लागि आन्दोलनको थालनी गरेको बताए ।
उनले विश्वविद्यालयको दीक्षान्तसभामै सहकुलपतिले विश्वविद्यालयका समस्या टुङ्ग्याएर अगाडि बढ्नुस् भने पनि उपकुलपति र रजिष्ट्रारले त्यो विषयलाई टुङ्ग्याउन नचाहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया