कृष्ण दर्नाल/ पाल्पा । रम्भा गाउँपालिकामा अझै पनि ३ सय ३३ खरका छानासहितका घर छन् । खरका छाना बर्सेनि छाउनुपर्ने बाध्यता हुँदा बढी खर्चिलो हुँदै आएको छ ।
गाउँपालिकाले घरका छानासहितका घरलाई कर्कटपाताले छाइदिइने भएपछि स्थानीय बासिन्दा खुशी देखिएका छन् । चालू आव २०७६/७७ मा ३३३ घरमा खरका छाना गाउँपालिकाले हटाउने गरी काम थालेको छ । गाउँपालिकालाई यसै आवमा पूर्णरूपमा खरका छानामुक्त बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।
गाउँपालिका क्षेत्रभित्र झण्डै चार हजार ५०० घरमध्ये ३३३ घर अझै पनि खरका छानासहितका रहेको भेटिएको हो । खरका छानाका घर असारपछि कर्कटपाताका छानामा बदलिनेछन् । यस आवको अन्तिममा गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषणा गर्नका लागि रु ७० लाख बजेटमार्फत काम अघि थालिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए।
आर्थिकरूपमा विपन्न समुदायका नागरिकका घर अझै पनि खरका छानासहित रहेका छन् । बर्सेनि छाउनुपर्दा आर्थिकरूपमा बोझिलो बन्दै गएको थियो । दक्ष कामदारको अभाव तथा छाउनका लागि डाँडाभाटाको अभाव रहेका बेला गाउँपालिकाले खरका छाना हटाई कर्कटपाताले छाइदिने भएको हो ।
गाउँपालिकाले खरका छाना रहेका घरलाई कर्कटपाता वितरणसम्बन्धी मापदण्ड निर्माण गरेको छ । कहीँकतै पनि कर्कटपाता वा पक्की घर नभई खरका छानामा बसोबास गर्नेलाई कर्कटपाता प्रदान गरिने भएको हो । नौ हात चौडाइ र १५ हात लम्बाइसहितका घरका हिसाब गरिएको छ । गाउँपालिका अध्यक्ष भण्डारीका अनुसार छ फिटका ३० पाता वा नौ फिटका २० पाता आवश्यकताका आधारमा वितरण गर्ने योजना छ ।
दुई घर रही एउटामा कर्कटपाता र एउटामा खरका छाना रहेका घरले यो सुविधा पाउने छैन । घरका गोठमा बसोबास गर्ने मानिसले यो सुविधा पाउनेछन् । अरु कुनै स्थानमा पनि कर्कटपाताका छानासहितका घर नभएकाहरुलाई यस्तो सुविधा प्रदान गरिनेछ । प्राविधिकको अनुगमनपछि मात्र गाउँपालिकाले कर्कटपाता प्रदान गर्नेछ । गाउँपालिका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष कृष्ण रेग्मीले वडाभित्र खरका छानासहितका घरको तथ्याङ्क सङ्कलन गर्ने काम जारी रहेको बताए ।
हालसम्म ७२÷७३ घर खरका छानासहित घर रहेको प्रारम्भिक तथ्याङ्क छ । उहाँका अनुसार यस आवमा खरका छाना हटाउने गरी काम थालिएको छ । कर्कटपाता खरीदका लागि गाउँपालिकाले बोलपत्र खोलिसकेको छ । असारसम्म सबै काम सम्पन्न हुनेगरी काम अघि बढेको हो ।
गाउँपालिकाले २८ महिनामा २८ उपलब्धि हासिल गर्न सफल बनेको छ । शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, खरका छाना विस्थापित गर्ने, विद्युत्, सडकलगायतका क्षेत्रमा उल्लेखनीय परिवर्तन देखाएको गाउँपालिकाको जिकिर छ । दिवाखाजा तथा विद्यार्थीलाई दुर्घटना बीमाले गाउँपालिकाले चर्चा पाउन सफल भएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया