गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मी, ७ माघ – गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट उक्त कारोबार भएको रुरु फ्रेण्ड क्लबका अध्यक्ष रामलाल विकले बताए यस पटकको रिडी मेलामा बजारका सामग्रीभन्दा घरेलु सामग्रीको व्यापारप्रति मानिसको आकर्षण बढेको थियो । घरेलु सामग्रीमा आकर्षण सँगै त्यसको बिक्री पनि बढेपछि विगत वर्षका मेलाको तुलनामा यस पटकको मेलाबाट व्यवसायी पनि थप उत्साही बनेका छन् । मेलामा पूर्वी रुकुमदेखि व्यापारी काम्ला र राडी, पाखी, ओखरका घाँजी र बास र काठबाट निर्मित सामग्री बिक्री गर्न रिडी मेला आउने गर्दछन् । विगतका वर्षमा खासै व्यापार नहुने हुँदा निराश बनेका व्यापारी यो पटक सञ्चालन भएको माघी मेलाबाट उनीहरुमा खुशी थपिएको हो । रिडी मेलामा व्यापार गर्नका लागि भनेर बर्षेनी रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लाबाट पाँचदेखि सात दिनसम्मको पैदल यात्रा गरी उनीहरु गुल्मीको रिडी आइपुग्ने गर्दछन् मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन हुने रिडी मेलामा विशेषगरी रुकुमका दुर्गम गाउँमा भेडाको ऊनबाट तयार पारिएका राडी, पाखी, स्वेटर, टोपी र काँचो ऊन पनि बिक्री वितरण हुने गर्दछ । खाने सामग्रीमा ओखरको घाँजी, बदाम, गुँड र कन्दमूलले पनि मेलामा राम्रो बजार पाएको थियो । मेलामा बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँचीमा बाँसबाट बुनेर तयार पारिएका सुपा, डाला, थुन्से, भकारी, कपाल कोर्ने बाँसको काँइयोलगायत सामग्रीको व्यापार राम्रो भएको व्यवसायी बताउँछन् पछिल्ला वर्षमा स्थानीय युवा क्लबले तीनदिने मेलालाई बढाएर पाँचदिने बनाएका छन् । यो पटक सञ्चालन भएको मेलाको कारोबार हेर्दा व्यापारीलाई उत्साहित बनाउनाका अतिरिक्त आयोजकलाई समेत थप उत्साहित बनाएको क्लबका पूर्वअध्यक्ष हिमाल श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?