महानगरमा पिउने पानी परियोजना सञ्चालन

काठमाडौं । नगरवासीलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन विराटनगर महानगरपालिकाले पिउने पानी सुधार परियोजना सञ्चालन गर्न तयारी थालेको छ । दातृ निकाय जापानी सहयोग नियोग(जाइका) को सहयोगमा सो परियोजना सञ्चालनमा ल्याउने तयारी भएको हो । १० अर्ब लागत लाग्ने अनुमान गरिएको परियोजनाबारे जाइका टोलीले अध्ययन शुरु गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा नगरवासीलाई शुद्ध पिउने पानी उपलब्ध गराउन ‘एक घर एक धारा अभियान’ सञ्चालनमा ल्याउने बताएअनुसार खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न काम थालिएको महानगर प्रमुख भीमप्रसाद पराजुलीले बताए । पाँच अर्ब लागतको ढल, नाला तथा सडक निर्माण परियोजना सकिन नपाउँदै महानगरपालिकाले अर्को ठूलो परियोजना सञ्चालनको तयारी थालेको हो ।

महानगर प्रमुख पराजुलीका अनुसार महानगरपालिकाले आफ्नै स्रोतबाट समेत पिउने पानी सुधार अभियान थालिसकेको छ । महानगरको आन्तरिक स्रोतले मात्रै महानगरको खानेपानी समस्याको समाधान गर्न सम्भव नभएका कारण दातृ निकायससँग सहयोग मागिएको पराजुलीको भनाइ छ ।

पराजुलीले विराटनगरका १९ वटै वाडामा शुद्ध खानेपानी उपलब्ध गराउन पिउने पानी सुधारको नयाँ परियोजना सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए । जाइकासँग विराटनगरको प्रथमिकताका आधारमा पहिलो चरणमा पाँच अर्बको आयोजना निर्माण गर्ने तयारी भइरहेको छ । उनका अनुसार महानगरपालिकाले थप ओभर हेड ट्यांकी निर्माणका लागि समेत जग्गा उपलब्ध गराइसकेको छ ।

विराटनगरमा सञ्चालन भएका मझौला शहरको एकीकृत वातावरणीय सुधार परियोजना, शहरी विकास परियोजना, छ लेन सडक विस्तार आयोजना, सघन शहरी विकास आयोजनालगायत आयोजनाबाट विराटनगरको ढल, नाला तथा सडक निर्माणको काम भइरहेका छन् । ती आयोजनाले काम गरेका स्थानमा खानेपानीको पाइप लाइन छोपिएको, बिग्रिएको र कतिपय स्थानमा ढल तथा फोहोर पानीसमेत मिसिएका कारण धाराको पानी प्रदूषित भएकाले शुद्ध पिउने पानीका लागि उक्त योजना शुरु गरिएको महानगरपालिका सामाजिक विकास अधिकृत पुनम दाहालले जानकारी दिए ।

विराटनगरमा ५० वर्ष पुराना पाइप लाइनबाट समेत खानेपानी वितरण भइरहेको छ । पुरानो र जीर्ण पाइप लाइनका कारण नेपाल खानेपानी संस्थान विराटनगरले वितरण गरेको खानेपानीमा छ वर्ष पहिलेदेखि नै समस्या देखिंँदै आएको छ । प्रदूषित खानेपानीकै कारण छ वर्ष पहिले विराटनगरमा कमलपित्तले महामारीकै रुप लिएको थियो । प्रदूषित पानीका कारण १८ जनाले ज्यान गुमाएका थिए । त्यतिबेला करीब चार हजार जनामा कमलपित्त देखिएको थियो । यसैले विराटनगरवासीले खानेपानी संस्थानको पानी पिउनसमेत छाडिसकेका छन् । विराटनगरका बहुसङ्ख्यक उपोभोक्ताले चापाकलको पानी पिउने गरेका छन् । विराटनगरमा जार र बोतलको पानी पिउनेको सङ्ख्या पनि बढ्दो छ । धाराको पानी पिउनयोग्य नभएपछि नगरवासी जार र बोतलको पानी पिउन बाध्य भएको विराटनगर २ का सुभाष कामतले बताए ।
विकासनिर्माणका कामले खानेपानी प्रदूषित भएकाले महानगरमा वितरित खानेपानीको संरचना नै परिवर्तन गर्नुपर्ने अवस्थाा आएको महानगरपालिका सामाजिक विकास अधिकृत दाहालको भनाइ छ । दाहालका अनुसार महानगरका बहुसङ्ख्यक सडम निर्माणका क्रममा छन्, कतिपय निर्माण भइसकेका छन् । सडक निर्माणका क्रममा खानेपानीका सबैजसो पाइपलाइन काम नलाग्ने अवस्थामा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?