काठमाडौं, ७ माघ- राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुने भएको छ । उम्मेदवारी मनोनयनअघि नै तालमेलको टुंगो लगाउने गरी तीनै दल शनिबारबाटै गृहकार्यमा जुटेका छन् । माघ २४ गते हुने निर्वाचनका लागि बुधबार उम्मेदवार मनोनयनको कार्यक्रम रहेकाले सोमबारसम्म उम्मेदवारी टुंगो लगाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन् । बालुवाटारमा शनिबार बसेको तीन दल बैठकमा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले ५६ सिटका लागि हुने निर्वाचनमा वाम गठबन्धन ४२, कांग्रेस १० र फोरम-राजपाले ४ सिट जित्ने तथ्यांक प्रस्तुत गरेका थिए उनले चुनावी रणनीतिलाई बुद्धिमत्तापूर्ण रूपमा प्रयोग गरिए प्रदेश ३ मा कांग्रेसले विवेकशील र राप्रपासँग तालमेलबाट दुई सिट थप्न सक्ने र प्रदेश २ मा फोरम-राजपालाई एक सिट बढी आउने तथ्यांक देखाएका थिए । फोरम-राजपाका प्रतिनिधिले भने आफूहरूले स्वतः जित्ने चार सिटका लागि तालमेल आवश्यक नभएकाले पाँच सिटमा मात्र तालमेल गर्नसक्ने अडान राखेका थिए चुनावी सहकार्यका विषयमा भएको छलफलले सोमबारसम्म अन्तिम रूप पाउने कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले बताए । राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनलगायत विषयमा तीन दलबीच प्रारम्भिक कुराकानी भएको उनले जानकारी दिए । ‘प्रदेश २ र अन्य प्रदेशमा के-कसो गर्ने भन्ने अनुमानित तथ्यांकमा गृहकार्य अघि बढेको हो । आइतबार एजेन्डागत रूपमा छलफल हुनेछ’, उनले भनेमिलेर चुनाव लड्दा प्रदेश २ मा धेरै सिट हासिल गर्न सकिने निष्कर्षसहित आइतबार निर्णायक वार्ता गर्न लागिएको फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । ‘मुलुकको विद्यमान राजनीतिक र राष्ट्रियसभा चुनावको विषयमा सामान्य छलफल भए पनि टुंगो लागेको छैन । आ-आफ्नो दलमा परामर्श गरी आइतबार पुनः बस्ने निर्णय भएको छ’, श्रेष्ठले भने । राजपा महासचिव केशव झाले बैठक सकारात्मक भएको टिप्पणी गरे । ‘राष्ट्रियसभामा मधेसी र कांग्रेसबीच चुनावी एकता निकट छ’, उनले भने प्रदेश प्रमुख नियुक्तिमा प्रधानमन्त्री शेरबहादुर देउवा केही उदार देखिएको र प्रदेश २ मा आफ्ना मागप्रति कांग्रेस लचक देखिएकाले राष्ट्रियसभामा कांग्रेससँगै तालमेल हुने फोरमका एक नेता बताउँछन् । कांग्रेसले प्रारम्भमा प्रदेश २ मा मात्र भने पनि पछि प्रदेश ५ को प्रमुख मधेसी दलकै सिफारिसमा दिनु सकारात्मक उपलब्धि रहेको उनले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया