धमाधम हटाइँदै काठमाडौंका होर्डिङ् बोर्ड

काठमाडौं । बाह्य बिज्ञापनका लागि सहरका राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले तीब्रता दिएको छ ।

यसै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिए । काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो । यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो ।

हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, उनले थपे – नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं ।

महानगरले २०७० सालमा जारी गरेको बिज्ञापन सामाग्री नियमन गर्ने कार्यबिधिलाई पूर्ण कार्यान्वयन गर्ने हाम्रो अभियान हो, सापकोटाले सहरी सौन्दर्यीकरणमा महानगरले गरिरहेको कामका बारेमा भने– भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, व्यानरलगायत सहरलाई कुरुप बनाउने सबै सामाग्री हटाउँदैछौं ।

हिजो (पुष १० बिहीबार) गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु–याउन सबै पक्षलाई आग्रह गरिएको थियो । यसप्रकारका प्रचार सामाग्रीसँगै अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन सार्वजनिक सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ । तोकिएको समयभित्र तार नहटाए सरकार आफैंले तार हटाउनेछ ।

बैठकमा गृहमन्त्री थापाले भने– सर्वोच्च अदालतले यस प्रकारका प्रदुषण हटाउन यस अघि नै आदेश दिइसकेको छ । अहिले हामी पर्यटन बर्षको संघारमा छौं । सहरलाई सुन्दर बनाउन र कुरुपताबाट बचाउन अब ढिलाई गर्नुहुँदैन । त्यस अवसरमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले–महानगरले सहरी सुन्दरता कायम गर्ने कामलाई नियमित गरेको जानकारी दिँदै यसलाई तीब्र बनाइने बताए ।

सहरलाई सुन्दर बनाउन होर्डिङ् बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पर्छ, सहरी दृश्य प्रदुषण हटाउन परामादेशको माग गर्दै सर्वोच्च गएका अधिवक्ता पदमबहादुर भन्छन् महानगरको रेकर्ड भएका प्रचार सामाग्रीलाई बिधिअनुसार व्यवस्थापन गर्नुपर्छ, अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामाग्री हटाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?