आचारसंहितालाई पालना गर्नु सबैको कर्तव्य हो : नेता केसी

विराटनगर, ३० भदौ ।नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु राजनीतिकदल लगायत सबैको कर्तव्य भएको बताएका छन ।नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा नेता केसीले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गरे ।संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई संयोजन गरी सबैलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याए ।संविधान गतिशील दस्तावेज रहेकाले समयानुकूल संविधानको संशोधन भइरहने स्पष्ट पार्दै केसीले नेपाली काँग्रेस मधेशको आधुनिकीकरण र विकासका लागि निरन्तररुपमा संघर्ष गर्दै आइरहेको जानकारी दिए ।सरकारको सय दिन पूरा भएको सन्दर्भमा नेता केसीले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको, तेस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराएको भन्दै समष्टिगतरुपमा सय दिनको कार्यकाललाई सफल ठान्नुपर्ने बताए ।मन्त्रिमण्डल विस्तारको सम्बन्धमा पत्रकारको जिज्ञासामा केसीले संविधानलाई कार्यान्वयन गर्नुपर्ने र सबैलाई समेटेर लैजानुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा सरकार विस्तार भएको स्पष्ट पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?