नेपालका गिरोह र भारतीय पुजारीको डरलाग्दो ‘सेटिङ’, अन्ततः प्रहरीले यसरी पक्रियो अभियुक्त

काठमाडौं । मोडलिङको प्रलोभनमा पारी युवतीलाई बोर्डर पार गराउन खोज्ने गिरोहलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । यही पुस १० गते टेकुस्थित महानगर प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले उक्त गिरोहबारे खुलासा गरेको हो । विभिन्न बहाना बनाउँदै युवतीलाई बोर्डर पार गराउने क्रममा प्रहरीले उक्त गिरोहलाई बिराटनगरको फुलचोक बुढीगंगा १ बाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा नवलपरासीका कृष्ण तामाङ, सप्तरीका उमेश शाह र उमेश माझी, दाङकी दिलकुमारी बुढामगर, बिराटनगरका दिलिप पोदार, धादिङकी प्रेमा तामाङ र सुनसरीका रंजित कुमार चौधरी रहेका छन् ।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) होविन्द्र बोगटीका अनुसार काठमाडौंमा आयोजना हुने ‘-याम्प वाक’मा हिँड्नलाई अनिवार्य रुपमा ६ फिटको उचाइ आवश्यक भएको र युवतीको अग्लो उचाइले गर्दा यो अवसर उनले पाउने भन्दै मीठामीठा कुरामा फसाएर धादिङ घर भइ काठमाडौंको सितापाइलामा बस्दै आएकी प्रेममाया तामाङले युवतीसामु मोडलिङमार्फत् राम्रो रकम पाउने प्रस्ताव राखिन् । युवतीले प्रस्ताव स्वीकारिन् ।

तर, शारीरिक बनावट जाँच्ने नाममा महिनावारी भएको १०,१२ दिन भइसकेको हुनुपर्ने, शरीरमा घाउचोट र दागखटिरा नहुनुपर्ने, शल्यक्रिया गरेको हुनु नहुने जस्ता असामान्य सर्तहरु राख्न थालेपछि युवतीको परिवारलाई यो प्रस्तावमाथि ‘शंका’ लाग्न थाल्यो ।

अझै अचम्मको कुरा त, त्यसरी जाँचबुझ गरेको भिडियो बिराटनगरका उमेश शाहलाई पठाएर, शाहबाट स्वीकृति लिएर मात्र युवतीलाई बिराटनगर लग्ने तयारी गरिएको थियो ।

यति भएपछि युवतीका परिवारले महानगरीय प्रहरी परिसरलाई खबर गरे । जानकारी पाएपश्चात् तुरुन्तै विशेष टोली खटाएर युवती र उक्त गिरोहलाई पछ्याउँदै प्रहरी बिराटनगरसम्म पुगेको प्रनाउ बोगटीले बताए ।

‘युवतीलाई दिलकुमारी बुढाको साथमा बुद्ध एयरमार्फत् बिराटनगर ल्याइएपछि उमेश शाह र कृष्ण तामाङले उनलाई बिराटनगरको जलजला चोकस्थित काली मन्दिरको धर्मशालामा लगियो,’ प्रनाउ बोगटीले घटनाका बारेमा थप प्रष्ट्याए, ‘प्रहरीले उक्त गिरोहलाई सिभिल ड्रेसमै पछ्याइरहेको थियो, बिराटनगरका प्रहरी साथीले पनि हामीलाई साथ दिनुभयो ।’

बोगटी अगाडि थप्छन्, ‘तान्त्रिक पूजा गर्न र मोडलिङका लागि आवश्यक कपडाहरु किन्न भनी ललाइफकाइ गरेर जोगबनी बोर्डर हुँदै युवतीलाई पारी लग्ने योजना रहेछ तर, हामीले लाँदै गर्दा उनीहरुलाई पक्रियौं र युवतीको उद्धार ग-यौं ।

विहारको मन्दिरका पुजारी र अन्य व्यक्तिसँगको ‘सेटिङ’मा भारी रकम लिएर युवतीलाई तान्त्रिक पूजा गराउन उक्त गिरोहले यस्तो योजना बुनेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । समयमै सकुशल उद्धार नगरेको भए ठूलो अपराधिक घटनासमेत घट्न सक्ने प्रहरीको अनुमान छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी बताउँछ ।

सम्बन्धित समाचार :

योजनाकारको त्यो ३ प्रश्न, युवतीले थाहा पाइन् आफूलाई बलि चढाइँदैछ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?