आज ‘क्रिसमस डे’, ईसाई धर्मालम्बीहरुलाई विदा

काठमाडौं । आज ‘क्रिसमस डे’ अर्थात् क्रिसमस दिवस । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीष्टको जमोत्सवका अवसरमा देशभरका ईसाई धर्मालम्बीहरुले चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाउँदै छन्।

येशु ख्रीष्टको जन्मदिनको खुसियालीमा ईसाई धर्मालम्बीहरुले हरेक वर्ष २५ डिसेम्बरका दिन संसारभर विशेष महत्वका साथ ‘क्रिसमस डे’ मनाउँदै आएका छन् ।
आजका दिन मानिसले एक आपसमा क्रिसमस दिवसको शुभकामना आदान प्रदान गर्छन् ।

दिवस मनाइएका स्थलमा येशूको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदानप्रदान गर्ने, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिन्छ । नेपालमा क्रिश्चियन इतिहास ४ सय वर्ष भन्दा पुरानो रहेको छ ।

आज ‘क्रिसमस डे’ का दिन सरकारले ईसाई धर्मालम्बीहरुलाई सार्वजनिक विदा दिएको छ ।

क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थानमा विशेष रौनक छ । क्रिसमस ट्रीलगायतले बजार र ठूला व्यापारिकस्थल सजाइएको छ ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?