खतरनाक इबोला भाइरस विरुद्धको सुई पहिलोपटक स्वीकृत

एजेन्सी । मेरेक कम्पनीले निर्माण गरेको खतरनाक मानिने इबोला भाइरस विरुद्धको सुई अमेरिकाको खाद्य तथा औषधि विभागले पहिलोपटक स्वीकृत गरेको छ ।

विभागले ‘एर्भेभो’ नामक सो सुई स्वीकृत भएको घोषणा गरेको हो । १८ वर्ष भन्दा माथि उमेर समुुहकालाई ‘जेर इबोलाभाइरस’ का कारण हुने ‘इबोला भाइरस डिजिज, इभीडी’ बाट जोगाउन सक्ने विभागले आफ्नो बयानमा उल्लेख गरेको छ ।

अफ्रिका बाहिर अत्यन्तै दुर्लभ मानिने यो रोगले संक्रमित क्षेत्रमा बिरामीको उपचार गर्न पुुगेका डाक्टरहरु पनि यसबाट संक्रमित हुन सक्ने खतरा रहँदै आएको छ ।

यस्तोमा अमेरिकी सरकार यस खतरनाक रोगलाई फैलिनबाट रोक्नप्रति समर्पित रहेको विभागकी कमिसनर एना अब्राह्मले बताएकी छन । स्वास्थ्य तथा मानव सेवाका सचिव एलेक्स अजरले यो नयाँ सुइ विश्व स्वास्थ्यमा अमेरिकाको अग्रताका निम्ति अत्यन्तै खुसीको खबर भएको बताएका छन् ।

इबोलाले कंगोको पूर्वी क्षेत्रमा मात्र २ हजार मानिसको ज्यान लिइसकेको छ भने २०१४ मा पश्चिमी अफ्रिकामा पहिलोपटक यसको महामारी फैलिएदेखि ११ हजारको मृत्यु भइसकेको छ ।

इबोला भाइरसलाई प्राणघातक रोग मानिन्छ । जुन संक्रमित मान्छे वा जनावरको रगत, शारीरिक तरल पदार्द अथवा टिस्युसँग सम्पर्कमा आउँदा पनि स्वस्थ मानिसमा असर पर्न र सर्न सक्छ । त्यस्तै यो संक्रमित व्यक्ति वा जीवजन्तुसँग सम्पर्कमा आएका वस्तुको सतह मार्फत पनि संक्रमण हुन सक्छ । साथै चाँडै फैलिने हुनाले यो रोगलाई भयानक मानिन्छ ।

यसका लक्षणहरु ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, मांसपेसी र जोर्नीहरु दुख्ने, पेट दुख्ने, कमजोरी र थकान हुने, झाडापखाला अनि बान्ता हुने र असाधारण रुपमा रगत बग्ने वा चोट लाग्ने लगायत रहेका छन् । त्यस्तै अन्तिम स्टेजसम्म पुगेमा आँखा रातो हुने, छालामा घाउहरु हुने अनि बाडुल्की लाग्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?