सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुको यस्तो आपत्ती

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यामकुमारी खतिवडाले सिमेन्टको मापदण्ड र गुणस्तरमा परिवर्तन भइनसकेको बताएपछि सांसदहरुले आपत्ती जनाएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव खतिवडाले सिमेन्टको मापदण्ड परिवर्तन गरिएको फाइल तयार भएपनि संसदबाट पारित भइनसकेको र राजपत्रमा समेत प्रकाशित नभएकाले लागू नभएको बताउनुभयो ।

यससँगै समितिका सभापति भरतकुमार शाहले सचिव खतिवडाले झुट बोलेको भन्दै मन्त्रालय र विभागले के गर्दैछ समितिमा थाहा हुने बताउनुभयो । उहाँले मन्त्रीलाई समेत हस्ताक्षर नगराई फाइल राखेको भन्दै समितिलाई झुक्याउने प्रयाग नगर्न सचिव खतिवडालाई आग्रह गनुर्भयो ।

त्यस्तै सचिव खतिवडाले नेपालको पश्चिमी क्षेत्रको चुन ढुंगा खानीमा ६/७ प्रतिशत सम्म अघुलनशिल पदार्थ (म्याग्रेसियम अक्साइड) को मात्रा रहेको बताएपछि सांसदहरु आक्रोशित भएका हुन् । सांसद धर्माशीला चापागाईले नेपालको कुनैपनि ढुंगा खानिमा ३ प्रतिशत भन्दा बढी त्यस्तो अघुलनशिल पदार्थ नभएकोभन्दै सचिव खतिवडाको भनाई मान्न तयार नभएको बताउनु भयो ।

बैठकमा नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्ववावु पुडासैनीले परिमार्जित मापदण्ड कार्यान्वयनमा आइनसकेको र समितिले दिएको निर्देशन मान्न तयार भएको बताउनुभयो । महानिर्देशक पुठासैनीको भनाइसँगै सांसद अमनलाल मोदीले विभागका कर्मचारी र मन्त्रालयको सचिव उद्योगीहरुको प्रभावमा परेकाले सिमेन्टको मापदण्ड परिवर्तन गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?