स्थानीय ऐनको मस्यौदा तयार गर्दै रुपन्देहीको तिलोत्तमा नगरपालिका

रुपन्देही, ५ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न ऐन, नियमावलीको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरपालिकाले विभिन्न स्थानीय ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको हो । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा यही माघ ८ गते शुरु हुँदैछ विभिन्न ऐनको मस्यौदामाथि दफावार छलफल गरेर नगरसभाबाट पारित भएपछि त्यसलाई १५ दिनभित्र नगर प्रमुखले प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था रहेको नगरपालिकाका कानूनी सल्लाहकार खुमाकान्त पौडेलले जानकारी दिए यसरी प्रमाणीकरण भएको ऐन प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले कतिपय ऐन पहिलो नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिसकेको छ नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको ढाँचामा संघीय कानूनसँग नबाझिने गरी स्थानीय ऐनको मस्यौदा तर्जुमा गरेको हो नेपालको संविधान, २०७२ को अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएका छन् भने अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख छ । स्थानीय ऐनका कुनै प्रावधान प्रदेश कानुनसँग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने कानूनी सल्लाहकार पौडेलले जानकारी दिए नगरपालिकाले कतिपय ऐनको मस्यौदाउपर सरोकारवालासँग छलफल गरिसकेको छ । मूलतः शिक्षा र सहकारी ऐनको मस्यौदामा धेरैले चासो राखेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । प्रमाणीकरण र प्रकाशन, कृषि व्यवसाय प्रवद्र्धन, बजार अनुगमन, आर्थिक कार्य्विधिलगायतका ऐनको मस्यौदा नगर उपप्रमुखको संयोजकत्वमा रहेको विधेयक मस्यौदा उपसमिति र नगर कार्यपालिका बैठकबाट समेत पारित भइसकेको छ नेपालको संविधानले स्थानीय तहलाई दिएका अधिकारको सूचीको अधिनमा रही विभिन्न ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी भइरहेको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिए नगर कार्यपालिकाको बुधबारको बैठकमा कानूनी सल्लाहकार पौडेलले ऐनको मस्यौदा प्रस्तुत गरेका थिए । कार्यपालिका सदस्यले शिक्षा र सहकारी ऐनको मस्यौदा थप अध्ययन गर्न समय मागेपछि अर्को बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको छ कार्यपालिकाको बुधबारको बैठकले नगरको भूउपयोग नीति तयार गर्न प्रा डा भोजराज कडेरियाको संयोजकत्वमा उपसमिति गठन गरेको छ । यस्तै तिलोत्तमालाई प्लाष्टिक झोला र प्लाष्टिक गिलासमुक्त नगरपालिका बनाउन आवश्यक मापदण्ड निर्धारण गर्न केशवराज न्यौपानेको संयोजकत्वमा उपसमिति गठनलगायतका निर्णय कार्यपालिका बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?