सडेको अवस्थामा बेवारिसे शव फेला

कञ्चनपुर, ५ माघ । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए । शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी निरीक्षक थापाले भने, “शव दश दिन अगाडिको जस्तो देखिन्छ ।”शवको हालसम्म सनाखत हुन सकेको छैन । शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालतर्फ पठाइएको छ । शव परीक्षण पछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?