लागुऔषधसहित युवक पक्राउ

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित लोकमार्गबाट लागुऔषधसहित एक युवा पक्राउ परेका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिका ११ का २० वर्षीय दिनेश चौधरी १५ वटा लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स१प ८१४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक चौधरी सामान्य घाइते भएका थिए ।

चौधरीको शरीर खानतलासी गर्दा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

नाइट्रोजन ट्याब्लेट र मोटरसाइकलसहित चौधरीलाई इलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले लागुऔषध ओसारपसारमा उजुरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?