‘गुटको सल्लाहमा चले देउवा’

काठमाडौं, ५ माघ – निर्वाचनपछि पहिलोपल्ट बिहीबार बसेकोे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना भएको छ । बैठकको सुरुमै देउवाले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा सल्लाह मागे पनि केन्द्रीय सदस्यहरूले निर्वाचनमा पराजयको मुद्दालाई प्राथमिकतामा राख्दै बोलेका थिए । बिहीबार साँझसम्म २८ केन्द्रीय सदस्यले धारणा राखेका छन् सभापति देउवाले आफ्नो लिखित मन्तव्यमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पार्टीका सबै तह र मतदातालाई धन्यवाद दिँदै आसन्न राष्ट्रियसभा निर्वाचनमा कसरी जाने भन्नेमा केन्द्रीय सदस्यहरूको राय मागेका थिए । निर्वाचनमा पार्टी पराजयको विषयमा भने गम्भीर समीक्षा गर्नुपर्ने भन्दै उनले अर्को बैठक बोलाउने बताए । तर, केन्द्रीय सदस्यहरूले यही बैठकमा छलफल गर्न जिकिर गरेका छन् ‘सभापति देउवाले निर्वाचनमा पार्टीले बेहोरेको हारको सन्दर्भमा राष्ट्रियसभा निर्वाचनपछि अर्को बैठक डाकेर छलफल गर्ने बताउनुभएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘निर्वाचन समीक्षा गम्भीर ढंगले गर्नुपर्ने उहाँको भनाइ छ ।’देउवालगत्तै बोल्न थालेका केन्द्रीय सदस्यहरूले राष्ट्रियसभा निर्वाचनभन्दा पनि पार्टीमा नेतृत्व र त्यसको केही नजिक मानिसहरू हाबी भएको भन्दै पार्टी नेतृत्वलाई सच्चिन आग्रह गरे । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, कल्याण गुरुङ, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, चन्द्र भण्डारीलगायतले नेतृत्वको कडा आलोचना गरे । अधिकांश नेताले देउवाको आलोचनामै समय खर्चिए । उनीहरूले विधानविपरीत गठन गरिएको कार्यसम्पादन समिति र संसदीय बोर्ड विघटन गर्न माग गरे भने विधानअनुसार नयाँ समितिहरू चाँडै गठन गर्न सुझाएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?